७ बैशाख २०८१, शुक्रबार

छाडा चौपाया व्यवस्थापनमै ४ करोड सकियो, समस्या ज्युँका त्युँ

Chada Chaupaiya kanchanpur

कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनका नाममा पछिल्लो पाँच वर्षमा मात्रै चार करोड रुपैयाँभन्दा बढी खर्च भयो । तर अहिले पनि समस्या समाधान भएको छैन । राजमार्गदेखि किसानका खेतबारीसम्मै छाडा चौपायाको बिगबिगी छ । जसका कारण सडक दुर्घटनाका बढेको बढ्यै छन् भने अन्नबाली नष्ट गरिदिँदा किसान समस्यामा परेका छन् ।

यसअघि राजमार्गमै यत्रतत्र देखिने छाडा चौपायालाई केही समयअघि मात्रै स्थानीय बासिन्दाले नगरपालिका कार्यालयमा लगिदिएपछि पालिकाले नै राजमार्ग छेउमा यसरी राखेको छ । कान्जी हाउसको व्यवस्थापन नहुन्जेलसम्म अस्थायी रुपमा राखिएका यी छाडा चौपायामध्ये केही त मरिसकेको वेदकोट नगरपालिका कञ्चनपुरका हरिसिंह ओड बताउँछन् ।

छाडा चौपाया व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो । केही स्थानीय तहले कान्जीहाउस बनाएर यस्ता चौपाया राखे पनि उचित स्याहार नभएको शुक्लाफाँटाका भक्तराज जोशीको बुझाइ छ ।

कञ्चनपुरका ९ मध्ये बेलौरी र पुनर्वास नगरपालिकाबाहेक सात पालिकाले आर्थिक वर्ष ०७४/७५ देखि चालु आव ०७९/८० को हालसम्ममा छाडा चौपाया व्यवस्थापनका नाममा चार करोड २१ लाख २७ हजार रुपैयाँ खर्च गरेका छन् । यस अवधिमा शुक्लाफाँटा नगरपालिकाले १ करोड ८० लाख, वेदकोट नगरपालिकाले एक करोड २१ लाख, भीमदत्त नगरपालिकाले ९१ लाख ५० हजार, दोधारा-चाँदनी नगरपालिकाले ८५ लाख ७७ हजार, बेलडााडी गाउँपालिकाले २८ लाख, कृष्णपुर नगरपालिकाले २२ लाख र लालझाडी गाउँपालिकाले आठ लाख रुपैयाँ खर्च गरेका छन् ।

छाडा पशुचौपाया व्यवस्थापनका नाममा स्थानीय तहले बर्सेनि ठूलो रकम खर्च गरे पनि समस्या ज्यूँका त्यूँ छ । कतिपय ठाउँका किसान त छाडा चौपाया धपाउनकै लागि रातभर खेतमा जाग्राम बस्न बाध्य छन् । चौपायालाई छाडा छान्ने प्रवृत्ति नियन्त्रणमा भने स्थानीय सरकारको ध्यान पुगेको देखिँदैन ।