१३ बैशाख २०८१, बिहीबार

छरिएको पूँजी एकीकृत गरेर लगानी गर्ने अभ्यास गरौँ : अर्थमन्त्री पौडेल

bishnu poudel
फाइल फोटो

अर्थमन्त्री विष्णुप्रसाद पौडेल छरिएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै–थोरै पूँजी सङ्कलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमूना भएको उहाँले बताउनुभयो ।

नौ क्षेत्रमा काम गर्ने गरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जलविद्युत् आयोजनाको काम गुणस्तरीय र तीव्ररूपमा भइरहेको थाहा पाएको बताउँदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना पनि दिनुभयो ।

सामूहिक लगानीमा निर्माण भइरहेको सेतीखोला जलविद्युत् आयोजनाका लागि सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले रु २० करोड लगानी गर्ने सम्झौता गरेको छ । भिजन लुम्बिनीले तीव्रगतिमा पारदर्शी, सुशासन र जवाफदेहितासहित सामूहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखिएकाले लगानी गरेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुभयो ।

सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाइमा तीन बैंक तथा वित्तीय संस्थाले रु तीन अर्ब ५० करोड लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । एनएमबी बैंक एक्लैले आयोजनामा रु दुई अर्ब २० करोड लगानी गर्नेछ । यस्तै कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड लगानी गर्नेछन् ।

कूल रु पाँच अर्ब लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि चार किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेशनमा जोडिनेछ ।

विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको आह्वान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विद्युत् खपत बढाउन सबैलाई आह्वान गर्नुभएको छ । अहिले विद्युत्को उत्पादन धेरै हँुदै गएकाले तत्काल विद्युत्को खपत बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

top bahadur rayamajhi

उहाँले भन्नुभयो, “पहिलोपटक ऊर्जामन्त्री हुँदा विद्युत्को अभाव हुने समस्या थियो, अहिले ऊर्जामन्त्री हुँदा विद्युत् धेरै हुने समस्या भएको छ, त्यसैले ऊर्जा खपत बढाउनुपर्ने भएको छ ।” आगामी भदौसम्ममा ५०० मेगावाट बिजुली खेर जाने गरी उत्पादन भइरहेको बताउँदै उहाँले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा बिक्रीका लागि गृहकार्य पनि भइरहेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । उद्योगधन्दा राम्रोसँग सञ्चालन गरेकाहरुले देश पनि राम्रोसँग सञ्चालन गर्न सक्ने बताउँदै उहाँले उद्योगी व्यवसायी पनि राजनीतिमा आए देश सफल हुने धारणा राख्नुभयो ।

देशमा राजनीतिक अस्थिरता र धेरै आन्दोलन हुँदा उद्यमी लामो समयसम्म समस्यामा परे पनि अब राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाजनक अवस्था ल्याएको उहाँको भनाइ थियो ।

जलशक्ति र जनशक्तिमा नेपाल बलियो भएकाले जलशक्तिलाई उपयोग गर्न भिजन लुम्बिनीजस्ता सामूहिक कम्पनीहरुले ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । काँग्रेस नेता खाँणले भिजन लुम्बिनीको सामूहिक पूँजी र एकीकृत प्रयास अनुकरणीय रहेको थाहा पाउँदा खुशी लागेको बताउनुभयो ।