१४ बैशाख २०८१, शुक्रबार

अदालतको फैसला काँग्रेसले स्वीकार गर्छ : पूर्वमन्त्री भण्डारी

shankar bhandari

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला काँग्रेसका लागि स्वीकार्य हुने बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका–३ कुलचौरमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री भण्डारीले अदालतको फैसलालाई काँग्रेसले सम्मान गर्ने बताउनुभएको हो ।

अदालतले जे फैसला गर्छ, काँग्रेसले त्यो मान्ने बताउँदै भण्डारीले काँग्रेस चुनावदेखि नडराउने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको संसद् विघटन गर्ने कार्यले लोकतन्त्र खतरामा परेको भण्डारीले आरोप लगाउनुभयो । वर्तमान सरकारसँग नेपाली जनताको ठूलो आशा रहेको बताउँदै भण्डारीले सरकारले जनतालाई निराश बनाएको टिप्पणी गर्नुभयो ।

भण्डारीले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको बताउनुभयो । पूर्वमन्त्री भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।