२६ बैशाख २०८१, बुधबार

पृथ्वीनारायण अध्ययन केन्द्रमा गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म

prithvi narayan shah study center scaled
तस्वीर ः रत्न श्रेष्ठ, रासस

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्र राष्ट्रनिर्माता र नेपालको एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको उक्त केन्द्र पृथ्वीनारायण र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन एवं अनुसन्धानका रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको हो ।

अहिले राष्ट्रनिर्माता र एकीकरण अध्ययन केन्द्र रहे पनि भविष्यमा यसलाई अनुसन्धान केन्दका रुपमा विकास गर्ने लक्ष्य लिइएको उपरथी सहदेव खड्काले जानकारी दिनुभयो । मुलुकभित्र वा बाहिरका सम्पूर्ण देशप्रेमी, इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले राष्ट्रनिर्माता र एकीकरण सम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पनि तथ्यपरक सामग्री पनि उक्त केन्द्रमा उपलब्ध गराउन सक्ने सेनाले जनाएको छ ।

सेनाले इतिहासका विद्यार्थी र इच्छुक अनुसन्धानकर्तालाई केन्द्रबाट भरपूर लाभ लिन अनुरोध गरेको छ । मुलुकभर छरिएर रहेका पृथ्वीनारायण र एकीकरण सम्बन्धी सम्पूर्ण सामग्री एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हुँदा केन्द्रमा प्राप्त सामग्री उचित संरक्षण हुने जनाइएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले केन्द्रबाट अध्ययन र अनुसन्धान गर्न चाहनेलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गर्नुभयो । त्यस्ता इच्छुकले दिएको निवेदन तहगतरुपमा स्वीकृति भएपछि अध्ययन अनुसन्धानका लागि उक्त निर्देशनालयले सहजीकरण गर्ने छ । केन्द्रमा राष्ट्रनिर्माता र एकीकरणबारे हालसम्मप्राप्त सम्पूर्ण सामग्री राखिएको बताइएको छ । केन्द्रको मुख्य प्रवेशद्वारले गोरखा दरबारको झझल्को दिनेछ भने मूलद्वार बाहिर पाटन र भक्तपुर दरबार सङ्ग्रहालयका ठूला तस्वीर प्रदर्शित छ ।

के छ त केन्द्रमा ?

prithvi narayan shah cheena
तस्वीर ः रत्न श्रेष्ठ, रासस

केन्द्रमा प्रवेश गर्नासाथ पूर्णकदको पृथ्वीनारायण शाहको चित्राकृति देखिन्छ । उक्त आकृतिसँगै एकीकरणको अभियानसँग जोडिएको किंवदन्तीअनुरुप त्यसबेलामा सम्पर्क रहेका गोरखनाथको आकृति र शाहवंशीय वंशवृक्ष राखिएको छ ।

केन्द्रमा कपडामा लेखिएको ५२ हातको हस्तलिखित जन्मकुण्डली(राष्ट्रनिर्माता)को छविचित्र प्रस्तुत गरिएको छ । पृथ्वीनारायणको राजगद्दीसँग मिल्ने गरी तत्कालीन सिंहासन राखिएको छ । युद्धमा जानुपूर्व त्यस बेलाका पण्डितद्वारा दिन र समय तोकेर निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तक पनि अनुसन्धानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुनेछ ।

एकीकरणका नायक पृथ्वीनारायणले छिमेकी र छिमेकी राजाले उहाँलाई लेखेका करीब २०० चिट्ठीको संगालो पनि इतिहास जान्न चाहनेका लागि निकै महत्वपूर्ण खुराक हुने छ ।

तत्कालीन दिल्लीका बादशाहले पृथ्वीनारायणलाई उपाधि प्रदान गरिएको उर्दू भाषामा लेखिएको चिठी पनि ऐतिहासिक दस्तावेजका रुपमा रहेको छ । पृथ्वीनारायणको दिव्योपदेशलाई श्रव्यमा ढालिएको तथा उहाँको जीवनी समेटिएको वृत्तचित्र पनि त्यहाँ समेटिएको छ ।

केन्द्रमा पृथ्वीनारायणकालीन हात हतियार, गुप्त लौरो, भाँडा-बर्तन र सैनिक पोशाक पनि अध्ययनकर्ताको जानकारीका लागि राखिएको छ । एकीकरण मार्ग पदयात्रा अवसरमा सेनाले सञ्चालन गर्दै आएको एकीकरण मार्ग पदयात्रा संयोजन गर्दै आउनुभएका प्रमुख सेनानी अजय गुरुङले सविधानअनुरुप राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उक्त मार्गमा पर्यटन प्रवद्र्धन गरी मुलुकको आर्थिक र समृद्धिमा ठूलो योगदान पुग्ने विश्सास लिइएको छ । उहाँले भन्नुभयो, “२०७५ सालदेखि एकीकरण मार्ग पदयात्राको अवधारणा शुरु भएको हो । सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयको एकीकृत कार्यक्रम भएकाले व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्य छ ।

यसमा प्रदेश सरकार, स्थानीय तह र सेनाको तलसम्मका एकाइलाई समेटेर एकीकृत अवधारणामा सञ्चालन गर्ने काम भइरहेको छ ।”ऐतिहासिक गढी, किल्ला, यृद्धस्थल एवं पदमार्गको खोज, अनुसन्धान गरी इतिहासको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उक्त पदयात्रा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

ऐतिहासिक तथ्यमा आधारित लडाइँसँग सम्बन्धित स्थानमा युद्ध सङ्ग्रहालय स्थापना गरी भावी पुस्तालाई जानकारी गराउने पदयात्रा कार्यक्रमको लक्ष्य छ । सेनाले प्रत्येक प्रदेशमा एकता बाटिका स्थापनाको काम अघि बढाइसकेको छ । एकीकरण स्मृति उद्यानबाट आधुनिक नेपाल निर्माणमा सबै भूगोल र जातजातिको उत्तिकै योगदान छ भन्ने सन्देश प्रवाह गर्नेछ ।