७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक शाहीको निधन

lok bahadur shahi

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

उहाँको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक रहनुभएको थियो । सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उहाँ टोलीको महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।

शाहीले चार पटक साफ खेल खेल्नुभएको थियो । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उहाँ गोल रक्षक रहनुभएको थियो । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिनुभएको हो ।

उहाँ २०५२ सालमा गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिवमा निर्वाचित हुनुभएको थियो । पछिल्लो पटक उहाँ नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहनुभएको थियो । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घको संस्थापक अध्यक्षमा चयन हुनुभएको थियो ।