१४ बैशाख २०८१, शुक्रबार

वर्तमान सरकार पूर्ण अवधिको ः मन्त्री ज्ञवाली

MD Morang MinisterGyawali

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार पूर्ण अवधिको भएकाले पहिले जसरी काम गर्ने बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषद् मोरङद्वारा विराटनगरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा हाम्रो भूमिका’ विषयक छलफल कार्यक्रममा उहाँले निर्वाचन आयोगले चुनावको कार्यक्रम सार्वजनिक नगरेसम्म सरकारलाई आचारसंहिता नलाग्ने र सबै कार्य गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री ज्ञवालीले जनता समक्ष नयाँ जनमत लिनका लागि गरिएको संसद् विघटन कार्य लोकतान्त्रिक रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहले बहुमतको नाममा बन्धक बनाएकाले ताजा जनादेश लिन निर्वाचनमा जानु बाध्यता भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले संसद् विघटन आकस्मिक नभएको चर्चा गर्दै जनताको पक्षमा कार्य गर्न नपाएकाले बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । मन्त्री ज्ञवालीले तोकिएको समयमा निर्वाचन हुने बताउँदै सरकारले जनताका लागि गरेको उपलब्धिलाई घरघरमा पु¥याउन सबैसँग आग्रह गर्नुभयो ।

उहाँले हाम्रो तर्फबाट पार्टी विभाजन नभएको प्रष्ट पार्दै नीतिगत र सैद्धान्तिक ढङ्गले छुट्टिएर गएका समूहलाई प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामा जनता समक्ष जानु उपयुक्त भएको भन्दै संविधानमा संसद् विघटनको परिकल्पना नगरेको भन्नु गलत भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनबाट सत्ता हस्तान्तरण र महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दिएको विकल्प प्रचण्ड–नेपाल समूहलाई मान्य नभई जबरजस्ती सत्ताबाट हटाउन अविश्वास प्रस्ताव ल्याउन लागेकाले संसद् विघटन गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको विचार व्यक्त गर्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–नेपाल समूहले सत्ता र पार्टी कब्जा गर्न विगतमा पार्टी एकता र गठबन्धन गरेको प्रष्ट भएको चर्चा गर्दै यस कार्यबाट आज सिङ्गो मुलुकका कार्यकर्तालाई वर्तमान सरकारप्रति एक ढिक्का बनाएको बताउनुभयो ।

उहाँले विगत तीन वर्षको अवधिमा मुलुकमा विकास निर्माणले गति लिएको अवस्थामा छुट्टिएर गएका समूहले मुलुक र राजनीतिलाई अस्थिरता बनाउन महत्वाकांक्षाका साथ वर्तमान अवस्था सिर्जना गरेको आरोप लगाउनुभयो ।

छलफलमा परिषद्का मोरङ अध्यक्ष टीकाराम पुरी, तारानाथ निरौला, डा अर्जुनकुमार बराल र यज्ञप्रसाद शर्माले अवधारणपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।