१५ चैत्र २०८०, बिहीबार

प्रतिनिधिसभा पुनःस्थापना हुँदैन : अर्थमन्त्री पौडेल

Bishnu Paudel
फाइल फोटो

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुने सम्भावना नरहेको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्विनी प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सम्पर्क कार्यकर्ता भेलामा उहाँले प्रतिनिधिसभाको पुनःस्थापना नहुने भएकाले निर्धारित समयमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेको भन्दै निर्वाचनका लागि अर्थ मन्त्रालयले स्रोतको प्रवन्ध गरेको पनि जानकारी दिनुभयो । उहाँले सरकार र सुरक्षा निकाय तोकिएकै समयमा निर्वाचन गराउनका लागि केन्द्रित भइसकेको जानकारी दिँदै कार्यकर्तालाई पनि सोही अनुरुप सक्रिय सहभागी हुन आग्रह गर्नुभयो ।

स्थायी कमीटी सदस्य छविलाल विश्वकर्माले हिलोमा नै कमल फूल्न सक्ने भन्दै अहिलेको समयलाई सदुपयोग गर्दै परिस्थितिलाई निखार गर्नुपर्ने बेला आएको छ भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका राम्रा काम र प्रयास बारेमा जनतालाई जानकारी दिनुपर्नेमा उहाँले जोडदिनुभयो ।

नेकपाका नेतृ सृजना काफ्लेले राजनीतिक व्यवस्था र पाटी तरङ्गित भएको अहिलेको विशेष अवस्थामा कार्यकर्ताले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै अहिलेको राजनीतिक परिस्थतिलाई विश्लेषण गरी जनता माझ जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।