१२ बैशाख २०८१, बुधबार

चार सडक मानवको उद्धार

sadak manab 1

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङका विभिन्न सडकमा कष्टकर जीवनयापन गर्दै आइरहेका चार बेवारिसे सडक मानवको उद्धार गरिएको छ ।

सहयोगापेक्षी –बेसहारा, अशक्त, असहाय, अनाथ अभिभावकविहीन सडक आश्रित मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत मेची महाकाली यात्राका क्रममा आज १३ औँ दिनमा लमजुङ आइपुगेको आश्रमको टोलीले जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो ।

आश्रमका केन्द्रीय कोषाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनालगायतको टोलीले बेँसीशहर नगरपालिकाबाट २४ वर्षीय राजेश थापा, ५० वर्षीय मठोर दमाईँ र ५० वर्षीय राम दुलाललाई र सुन्दरबजार नगरपालिकाबाट ३९ वर्षीय रामकृष्ण परियारलाई उद्धार गरेको मानवसेवा आश्रम लमजुङले जनाएको छ ।

उद्धार गरिएकामध्ये थापा र दुलाललाई मानवसेवा आश्रम लगिएको तथा परियार र दमाईँलाई मानवसेवा आश्रम लमजुङमै राखिएको आश्रमको संयोजक अनिता अधिकारीले बताउनुभयो । जिल्लालाई छिट्टै बेवारिसे सडक मानवमुक्त घोषणा गर्ने अभियान चलाइएको आश्रमले जनाएको छ । विसं २०६९ मा हेटौँडाबाट शुरु गरेको सो सामाजिक संस्थाले अहिले देशका १५ जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ ।

लमजुङमा विसं २०७३ चैतमा बेँसीशहर –७ मा एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएको छ । आश्रममा हाल २८ सडक मानवले आश्रय लिइरहेका छन् । तीमध्ये १० महिला, १३ पुरुष र पाँच बालबालिका रहेको आश्रमले जनाएको छ । आश्रमका अनुसार हालसम्म ८० जनाको उद्धार गरिसकिएको छ ।

राष्ट्रिय उद्धार टोलीले यही पुस ७ गते काँकरभिट्टाबाट शुरु गरेको मेचीमहाकाली यात्राका क्रममा हालसम्म ४०० जनाको उद्धार गरिसकिएको जनाएको छ । आगामी माघ ७ गते अभियान सम्पन्न हुने र विसं २०८२ सम्म बेवारिसे सडक मानवमुक्त नेपाल बनाउन सहयोग पुग्ने आश्रमका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश संयोजक तिमिल्सिनाले बताउनुभयो ।

सभापति पौडेलद्वारा आश्रमलाई सहयोगनेपाली कांग्रेस लमजुङका जिल्ला सभापति भेषबहादुर पौडेलले मानवसेवा आश्रमलाई वार्षिक रु एक लाख सहयोग गर्नुहुने भएको छ । बेँसीशहर नगरपालिका र मानवसेवा आश्रम लमजुङको संयुक्त आयोजनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आश्रम लमजुङलाई सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सोही अवसरमा बेँसीशहर– १० घर भएकी उषा गुरुङले मानवसेवा आश्रमलाई रु ६ हजार आर्थिक सहयोग गर्नुभएको छ । गुरुङले आफ्नी छोरी शिवानीको जन्म दिनको अवसर पारेर सो सहयोगसँगै वार्षिक रु ६ हजार सहयोग गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा क्व्होलासोथार गाउँपालिका घर भएकी रजनी घलेले पनि मानवसेवा आश्रमलाई रु तीन हजार सहयोग गरेको आश्रमका संयोजक अनिता अधिकारीले बताउनुभयो । सो आश्रमले जिल्लालाई नै छिटो बेवारिसे सडक मानवमुक्त बनाउन लागेको छ ।