१४ बैशाख २०८१, शुक्रबार

विद्युत् सेवा अवरुद्ध : सेवाग्राही समस्यामा

Bidhut Pradhikaran Baitadi

बैतडी जिल्लाभरि आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । विद्युत् सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

जिल्लाभरि सबै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिनुभयो ।

“प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन सकेको छैन”, उहाँले भन्नुभयो, “अवरुद्ध विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली खटिएको छ ।”

आइतबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीले बताएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका सञ्चारमाध्यम, मोबाइल चार्ज गर्न समस्या, विद्युतीय उपकरण चलाउन सकिएको छैन ।

विद्युत् नहुँदा यहाँका केही रेडियो, एफएमको प्रसारणसमेत रोकिएको छ । पानी परेपछि चिसो बढेकाले विद्युत् सेवा पनि नहुँदा झनै समस्या भएको दशरथचन्द नगरपालिका–१ का मानबहादुर टेरले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेसँगै विद्युत् पनि बन्द भएको छ, निकै समस्या भएको छ ।”

बैतडीमा विद्युत्को अनियमित कटौतीले समस्या भइरहेको बेला विद्युत् सेवा नै अवरुद्ध हुँदा झनै समस्या भएको छ ।