१५ चैत्र २०८०, बिहीबार

शिक्षक हत्या अभियोगमा पक्राउ परेकी छात्रा र उनका पति सार्वजनिक

baitadi.jpg

बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । बिष्टको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । 

कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन् । प्रजा र विमला नातामा श्रीमान–श्रीमती हुन् । 
१ पुसमा  राति शिक्षक विष्टले विमला बोहरामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विमलालाई अभद्र व्यवहार गरेको झोंकमा उनका श्रीमान प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

प्रजाले शिक्षक बिष्टलाई ढलाएपछि एकजनाले खुुट्टा र अर्काले टाउको तर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शिक्षको शव दुवैजना मिलेर रम्बासको झ्याङमा फालेको प्रहरीको भनाइ छ । 

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । घटनामा अरु संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । 

शिक्षक बिष्टको शव  २ पुस दिउँसाे १ बजे फेलापरेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । 

सो घटनाको अनुसन्धानका लागि सीआईबीको टोलीसमेत बैतडी आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो ।