८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : ललितपुर विजयी

Prime Minister Cup Cricket Tournament

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको वाग्मती प्रदेशको छनोट खेलमा ललितपुर विजयी भएको छ ।

ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई १२३ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो ।

ललितपुरले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा त्रिविले नौ विकेट गुमाएर १४५ रन मात्र बनायो । २६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा त्रिविका लागि पृथु बाँस्कोटाले ४९, सुशान्त तिमल्सिनाले २८ तथा निराकार राईले १० रन बनाउनुभयो । बलिङतर्फ ललितपुरका आशुतोष घिरैयाले तीन तथा विपिन आचार्य र सुमित झाले दुई–दुई विकेट लिनुभयो ।

यसअघि ललितपुरका लागि पवनगोपाल श्रेष्ठले अविजित ११७ रनको शतकीय पारि खेल्नुभयो । उहाँले १०३ बल खेल्दै तीन छक्का र १० चौका प्रहार गर्नुभयो । यस्तै सचिन लेखकले ६८ तथा आशुतोष घिरैयाले ३१ रन बनाउनुभयो । बलिङतर्फ त्रिविका लागि पृथु बाँस्कोटाले चार तथा सुशान्त तिमल्सिनाले दुई विकेट लिनुभयो ।