८ माघ २०७७, बिहीबार

बगरमा उखुखेती: आम्दानी गतिलो

नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई करोड बढीको उखु बिक्री गर्दै आएका छन् । पछिल्लो समय उनीहरुले ट्रेञ्च प्रविधिको प्रयोग गरी उखु रोप्दै आएका छन् ।

यस प्रविधिबाट गरिएको खेतीमा सिँचाइमा पानीको बचत ६० प्रतिशतसम्म हुने गरेको छ । उखु बाँध्न सजिलो, हावाहुरीबाट कम ढल्ने, रोग किरा कम लाग्ने, उत्पादन बढी हुने र चिनीको मात्रा अधिक हुने भएकाले मिलमा बेच्न लैजाँदा सहजै बिक्री हुने भएकाले किसानले शरदकालीन उखुखेतीलाई बढावा दिन थालेका जनाइएको छ । अन्तरबालीका रुपमा तोरी, मसुरो, आलु र लसुनखेती गरी किसानले दोह्रो आम्दानीसमेत लिँदै आएका छन् ।

सामान्य विधिको भन्दा ट्रेन्च प्रविधिबाट गरिएको उखुखेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने गरेको छ । आधुनिक हलोको मद्दतले ट्रेन्च अर्थात् नालीमा उखुलाई रोपिने गर्दछ । यसबाट उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी हावा तथा बाढीलेसमेत असर कम गर्दछ ।

सामान्य विधिमा उखु लगाउँदा उमार शक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकामा ट्रेन्च प्रविधिमा उखुखेती गरिएपछि उखुको उमार शक्ति ८० देखि ९० प्रतिशतसम्म हुने गरेको छ । शरदकालीन उखुखेती गर्ने किसानले बढी उत्पादन दिने ०८२७२, सिओ ०२३८, सिओ ०११८,९४१८४ लगायत सात प्रजातिका उखु खेतमा रोपेका छन् । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजना अन्र्तगत किसानले शरदकालीन उखुखेती गरेका हुन् ।

परियोजनाअन्तर्गत विपद् न्यूनीकरण र आर्थिक विकासका लागि मुख्य उपक्षेत्रका रुपमा उखुबाली छनोट गरी सरकारी निकाय, उखु किसान समिति, महाकाली चिनी मिल र एग्रोभेटसँग समन्वय र सहकार्य गरी उखुबालीको विकास र विस्तार गरिरहेको परियोजनाका अधिकृत महेश घिमिरेले बताउनुभयो ।

नदीका बगरमा गत वर्ष ३८ दशमलव ७८ बिघामा उखुखेती गरिएकामा यस वर्ष उखुखेती हुने बगरको क्षेत्रफल विस्तार गरिएको छ । जसअनुसार किसानले यसवर्ष मात्रै ६८ दशमलव ६५ बिघा जग्गामा उखुखेती गरेका छन् । बगरमा शरदकालीन उखुखेती मात्रै १०७ दशमलव ४३ बिघामा पुगेको छ । जसको उत्पादन ३० हजार क्विन्टल बढी हुने गरेको छ । यस वर्ष उखुको उत्पादन बढेर ३५ हजार क्विन्टल पुगेको छ ।

टे«न्च प्रविधिमा लगाइने उखुखेतीमा बीउमा बचत गर्नका लागि कञ्चनपुकरका किसानले चिप कटर (आँख्ले) विधिको प्रयोगसमेत गर्न थालेका छन् । उखुको आँख्ला मेसिनको सहायताले निकाली उखुका बोट तयार गर्न नर्सरी बनाइने गरिएको छ ।

नर्सरीमा उम्रेका उखुका बिरुवालाई किसानले खेतमा तयार गरेको ट्रेन्चमा निश्चित दूरीमा रोप्ने गर्दछन् । यस विधिबाट उखुको खेती गर्दा थोरै बीउमा धेरै उत्पादन लिन सकिन्छ । “गत वर्ष कात्तिके उखु छ बढी फिट उचाइ भएपछि नदीको बगर संरक्षण भएको छ”, लाझाडीका स्थानीय रामप्यारा चौधरीले भन्नुभयो, “पानीको तीव्र बहावलाई नियन्त्रण गर्न सघाउ पु¥याउनुका साथै जग्गा कटानीको कार्य रोकिएको छ ।” यस वर्ष बगरमा खेती गर्दै आएका किसानले रु तीन करोड बढीको उखु बेच्ने लक्ष्य राखेका छन् ।

चिनी मिलमा हालसम्म बगरमा उत्पादित २० हजार क्विन्टल उखु बिक्री भइसकेको छ । अझै धेरै उखु बिक्री गर्न बाँकी छ । बगरमा उखुखेती गर्ने किसानलाई रासायनिक मल, बीउ ढुवानीमा स्थानीय तहसँगको सहकार्यमा परियोजनाअन्तर्गत अनुदान रकमसमेत उपलब्ध गराइएको छ ।

उखुको उत्पादन बढ्न थालेपछि सञ्चालित भागेश्वर महाकाली चिनी मिलले क्षमतासमेत वृद्धि गरेका छन् । परियोजनाअन्तर्गत गठन भएका सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत कात्तिके उखुखेती स्याली, सुनवरा, वनहरा, मछेली, दोदा नदीका बगर र त्यसका तटीय क्षेत्रका जग्गामा हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुका अनुसार बगरसहितको जग्गामा गत वर्ष पाँच हजार ४०० हेक्टर क्षेत्रफलमा शरदकालीन उखु लगाइएको थियो । जसको उत्पादन ७५ हजार ६०० मेट्रिकटन रहेको छ । यसको मूल्य तीन करोड ७८ हजार रहेको छ । कञ्चनपुरमा ६०० बढी किसान उखुखेतीमा संलग्न रहेका छन् । कैलालीमा भने २३५ हेक्टर क्षेत्रफलमा उखुखेती हुने गरेको छ । यसको उत्पादन १० हजार ५७५ मेट्रिकटन रहेको छ ।