१६ चैत्र २०८०, शुक्रबार

बागलुङमा तङ्ग्रिदै पर्यटन

baglung pul long bridge

बागलुङमा कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्बलाउन थालेको छ ।

जिल्लामा धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले विस्तारै गति लिन थालेका छन् । महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारद्वारा विनियोजित कार्यक्रम सञ्चालनको चरणमा प्रवेश गरेका छन् ।

यस वर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले १३ उद्यान निर्माणको काम गर्दैछ । यही पुस १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चार वटाको काम शुरु भएको छ । बाँकी उद्यानको नापजाँच र लगत अनुमान तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाभरका छ स्थानीय तहमा ११ उद्यान र दुई विद्यालय तथा क्याम्पसमा हरियाली विकास कार्यक्रम चालू आर्थिक वर्षका लागि सञ्चालित छन् । “उद्यान आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजना छ ”, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल भन्नुहुन्छ, “यस वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुने गरी प्रक्रिया थाल्न निर्देशन दिएका छौंँ ।”
ताराखोलामा दुई उद्यान बन्ने छन् ।

शहीद उद्यान तथा ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि रु १०÷१० लाख बजेट विनियोजन छ । मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर शुरु भइसकेको कार्यालयका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकामा रु दश लाखमा दुई उद्यान बन्नेछन् । पाकोट, हिलपार्क, जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको अमलाचौरमा शहीद उद्यान, रामरेखामा बिपी स्मृति उद्यान, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन् ।

बिपी स्मृति उद्यानका लागि रु पाँच लाख र अन्यमा रु दश लाख बजेट छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताउनुभयो । त्यहाँ रु दश लाख बजेट खर्च हुनेछ । गलकोटमा भगत सर्वजीत हरियाली उद्यान निर्माणका लागि रु ६ लाख ८३ हजार बजेट छ ।

जिल्लाभरका विद्यालयबाट प्रस्ताव मागेर पाँच विद्यालयमा हरित प्रवद्र्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् । दुवै योजनाका लागि रु २० लाख बजेट रहेको उहाँले बताउनुभयो । पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउनुहुन्छ ।

स्थानीय तहसँगको सहकार्यमा सबै योजनाको काम उपभोक्ता समितिले गर्नेछन् । हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्याङ्कानुसार चार योजनाको मात्रै सम्झौता भएको छ । बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालिएको उहाँले जानकारी दिनुभयो ।

पञ्चकोट पदमार्ग निर्माण शुरु

बागलुङ नगरपालिका– ६ सिमको प्रगतिचोकदेखि पञ्चकोटसम्मको पदमार्ग निर्माण थालिएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुने पदमार्गको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभयोे ।

दुई मिटर चौडाइको पदमार्ग आगामी असार मसान्तसम्म सम्पन्न हुनेछ । एउटै योजनामा सङ्घीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटलाई एकीकृत गरेर एउटै उपभोक्ता समितिमार्फत काम शुरु भएको नगरपालिकाले जनाएको छ । पदमार्ग निर्माणका लागि सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु सात लाख र गण्डकी प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु सात लाख ५० हजार बजेट विनियोजन गरेका छन् ।

“काम शुरु भएको छ, पञ्चकोट बागलुङको आर्थिक र सामाजिक विकाससँग जोडिएको क्षेत्र हो”, शिलान्यास गर्दै पौडेलले भन्नुभयो,“सङ्घ र प्रदेशको बजेटले नपुगे हामी साझेदारी गर्छौं, योजनाको काम उपभोक्ता समितिले समयमा सक्नुपर्छ ।” पदमार्ग बनेपछि पैदल हिँडेर पञ्चकोट पुग्ने पर्यटकका लागि सहज हुने पौडेलले बताउनुभयो ।

“हामीले कालोपत्र सडक बनाउने अभियान चलाएका छौंँ, मासिएका पदमार्गको मर्मत र निर्माणको काम पनि चलिरहेको छ”, पौडेल भन्नुहुन्छ,“स्थानीयवासीको दैनिकी र स्वरोजगारीसँग पदमार्गले अर्थ राख्छ । स्थानीय ढुङ्गा, गिटी र बालुवा तथा अन्य निर्माण सामग्रीको प्रयोग गरेर सो पदमार्ग बन्ने इञ्जिनीयर दीपेन्द्र भण्डारीले बताउनुभयो ।

डिभिजन वन कार्यालयअन्र्तगत सञ्चालन हुने योजनाको नियमित अनुगमन र सुपरीवेक्षण हुने डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले बताउनुभयो । “धर्म र सम्पदासँग जोडिएको मार्ग भएकाले धेरैको चासो छ”, उहाँले भन्नुभयो,“स्थानीय मजदूरको परिचालनमार्फत रोजगारी सिर्जनामा समेत यो योजनाले अर्थ राख्छ ।”

पञ्चकोट पुग्नका लागि वडाका विभिन्न स्थानबाट पदमार्ग बनाउने काम चलिरहेको वडाध्यक्ष खिमराज सापकोटाले बताउनुभयो । सो पदमार्ग बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आवगनमा वृद्धि हुने उहाँको विश्वास छ । ‘पैदल हिँड्नेहरु धेरै हुँदा व्यापारव्यवसायमा टेवा पुग्छ”, सापकोटा भन्नुहुन्छ, “स्थानीय उत्पादनले बजार पाउँछ ।”
बुर्तिवाङमा रगत अभाव

दैनिक सयौंँ बिरामी आउने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रगत अभाव भएको छ । रगत नहुँदा तत्काल चाहिने बिरामीको उपचारमा समस्या पर्ने गरेको छ । सदरमुकामदेखि ९० किमी पश्चिममा भएकाले दैनिक बिरामी धेरै आउँछन् । तत्काल सदरमुकाम पुग्न नसक्नेले यहाँकै भर पर्नुपर्छ । रगत अभावमा सुत्केरी सेवा लिनुपर्नेलाई बढी सास्ती हुने गरेको केन्द्रका प्रमुख डा मिलन मल्लले बताउनुभयो ।

आवश्यक दरबन्दीका स्वास्थ्यकर्मीसमेत छैनन् । तत्काल अरु ठाउँमा एम्बुलेन्स पनि छैन । हाल पश्चिम क्षेत्रमा आएका एम्बुलेन्स केन्द्रको मातहतमा चल्ने वा कता रहने भन्ने अझै अन्योल छ । शल्यक्रिया गर्ने चिकित्सक छन्, तर रक्तसञ्चार केन्द्र छैन । त्यसैले काम हुन्छ, जटिल अवस्था आयो भने अन्यत्र पठाउनुपर्छ । त्यसरी पठाउँदा बिरामीले चर्को शुल्क तिरेर ट्याक्सीमा कुद्नुपर्ने बाध्यता छ ।

रक्तसञ्चार नभएकाले शल्यक्रिया गर्ने बिरामीले रक्तसमूह मिल्ने व्यक्ति खोजेर राख्नुपर्ने बाध्यता छ । विभागीय रुपमा दरबन्दी पूरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उहाँले बताउनुभयो ।

नगर प्रमुखले एउटा एम्बुलेन्स खरीद गराउनुभएको छ । केही व्यावसायिक व्यक्तिको सहयोगमा पनि पश्चिमका लागि अर्को एम्बुलेन्स आएको छ । दैनिक १० जनासम्म बिरामी अन्यत्र जान खोज्दा ट्याक्सीकै भर पर्नुपरेकामा एम्बुलेन्सले भने साथ दिने स्थानीयवासीले बताए । यसअघि भीमगिठे र ग्वालीचौर चौकीमा रहेका एम्बुलेन्स बोलाएर बिरामी पठाउनुपथ्र्यो ।

थप उपचारका लागि यहाँबाट अधिकांश पाल्पा र बुटवलतर्फ जान्छन् । थप उपचारका लागि सदरमुकामम आउनुभन्दा बुटवल जान प्रभावकारी भएको स्थानीयवासीले बताए । शल्यक्रियासहितको सेवा दिँदा ल्याब असिस्टेन्ट, मेडिकल अधिकृत र कम्तीमा तीन नर्स अभाव भइरहेको उहाँले बताउनुभयो ।

यहाँ केन्द्र व्यवस्थापन समितिबाट पाँचस्वास्थ्यकर्मी करारमा राखिएको छ । तीमध्ये डा विवेक यादव एनेस्थेसियामा हुनुहुन्छ । उहाँको दरबन्दीमै व्यवस्था गर्न सकेमा नियमित शल्यक्रिया सेवा दिन सकिने मल्लको भनाइ छ । कार्यालय सहायक र प्रशासनको कर्मचारीरहेको उहाँले बताउनुभयो ।