१२ बैशाख २०८१, बुधबार

दुई नम्बर प्रदेशको सरकार गुम्ने डरले, तत्काल समाजवादी पार्टीले सरकार नछाड्ने

Upendra Baburam

समाजवादी पार्टी सरकारबाट तत्काल नबाहिरिने भएको छ। पार्टीको शनिबार अबेर रातिसम्म बसेको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो। बैठकले अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई सत्तारुढ नेकपासँग वार्ता गर्ने जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

यसैगरी मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीले असहमति जनाएको छ। गत बुधबार प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टी रुष्ट बनेको थियो। सरकारबाट बाहिरिने कि सरकारमै बसिरहने समाजवादीले शनिबार छलफल थालेको हो। उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवसँग कुनै सल्लाह नगरी प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरेपछि उनी असन्तुष्ट छन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा यादव नयाँ दिल्लीमा थिए। उनी शुक्रबार साँझ काठमाडौं फर्किएका थिए। स्वदेश फर्किएपछि शनिबार दिउँसो पार्टी कार्यालयमा राति अबेरसम्म बसेको थियो। अध्यक्षद्वयसहित पदाधिकारीले समसामयिक राजनीतिक स्थितिमाथि बैठकमा धारणा राखेका थिए। प्रचारविभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार हालै बसेको केन्द्रीय समिति बैठकपछि विकसित राजनीतिक घटनाक्रममा पार्टीले लिनुपर्ने मार्गबारे विभिन्न दृष्टिकोण प्रस्तुत र तिनमाथि छलफल भएको थियो।

मन्त्रिपरिषद पुनर्गठन हुँदा सरकारको तेस्रो बरियतामा रहेको उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वास्थ्य सम्बन्धि एउटा कार्यक्रमा भाग लिन भारतको राजधानी नयाँ दिल्लीमा थिए। यादव दिल्ली जाँदा स्वास्थ्य मन्त्री थिए भने फर्किँदा कानुन मन्त्री।

उपप्रधानमन्त्री यादवको मन्त्रालय प्रधानमन्त्रीले परिवर्तन गरेपछि समाजवादीभित्र दुई धार देखिएको छ। अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष सरकारबाट बाहिरिनु पर्ने पक्षमा छन् भने यादवनिकट केही नेताले तत्काल बाहिरिनुभन्दा सरकारमै बसेर रणनीतिक रूपमा खेल्नुपर्ने तर्क गरेका छन्। पार्टीभित्रै कतिपय शीर्ष नेताले उपप्रधानमन्त्री यादवलाई अपमानित गरी प्रधानमन्त्रीले मन्त्रालय हेरफेर गरेको भन्दै सरकारबाट बाहिरिनु पर्ने तर्क गरेका छन्।

यसअघि गत २७, २८ र २९ गते बसेको पार्टीको संघीय र केन्द्रीय परिषद् बैठकमा भट्टराई र यादवले १४ मंसिरमा हुने उपनिर्वाचनपछि प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न म्याद तोकेर नै अल्टीमेटम दिने र संशोधनको प्रयास नभए सरकार छाड्ने निष्कर्ष निकालेका थिए।

भट्टराईले तत्काल सरकार छाडेर वैकल्पिक शक्ति निर्माणमा जानुपर्ने र सरकारविरुद्ध आन्दोलनको प्रस्तावसमेत गरेका थिए। ‘यसबीच विकसित राजनीतिक घटनाक्रमलाई समेत पार्टीले विश्लेषण गर्दै छ,’ पाण्डेले भने, ‘बैठकमा गम्भीर छलफल र समीक्षा भइरहेको छ।’

शनिबार दिउँसो पार्टी कार्यालयमा औपचारिक बैठकअघि अध्यक्षद्वय यादव र भट्टराईले अनौपचारिक छलफल गरेका थिए।

त्यसो त पछिल्लो समय प्रधानमन्त्री केपी ओली उपेन्द्र यादवसँग सन्तुष्ट छैनन्। उनले सरकारमै सहभागी भएर सरकारको आलोचना गरेको, प्रधानमन्त्रीको भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली यादवप्रति असन्तुष्ट छन्। कतिपयले यादवको जिम्मेवारी हेरफेर समाजवादी पार्टी सरकारबाट बाहिरियोस भन्ने हेतुले गरेको पनि बताउने गरेका छन्।

केन्द्र सरकारबाट समाजवादी पार्टी बाहिरिएपछि त्यसको ठाउँमा राजपालाई सरकारमा ल्याउने र दुई नम्बर प्रदेशको सरकारबाट पनि समाजवादी पार्टीलाई ‘आउट’ गरेर नेकपा– राजपाको सरकार गठन गर्ने नेकपाको योजना रहेको समाजवादी पार्टीले निष्कर्ष निकालेको छ। अहिले दुई नम्बर प्रदेशमा समाजवादी पार्टीको नेतृत्वमा राजपा सम्मिलित सरकार छ।

दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले केन्द्र सरकार विरुद्ध आक्रामक अभिव्यक्ति दिने गरेको, अनावश्यक रुपमा मुद्दा मामिला गर्ने गरेको भन्दै समाजवादी–राजपा सम्मिलित सरकार हटाएर नेकपा–राजपा सम्मिलित सरकार गठन गर्न प्रधानमन्त्री ओलीले उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरेको समाजवादी पार्टीको बुझाइ छ ।

ठूलो दल भएका नाताले दुई नम्बर प्रदेश सरकारको नेतृत्व अहिले समाजवादी पार्टीले गरिरहेको छ। केन्द्र सरकारसँग उपेन्द्र यादवको टसल र दुई नम्बर प्रदेस सरकारले पनि केन्द्र सरकारसँग ‘झमेला’ गरेपछि समाजवादी पार्टीलाई सरकारबाट बाहिर पठाएर केन्द्र र दुई नम्बर प्रदेशमा पनि राजपासँग मिलेर सरकार गठन गर्न लागेको निष्कर्ष निकालेको समाजवादी पार्टीले ‘अपमान’ सहेरै भएपनि अहिले सरकार नछोड्ने निष्कर्षमा पुगेको हो।