२६ बैशाख २०८१, बुधबार

ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको हो : शेरबहादुर देउवा

Deuba

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नेपाली भूभाग समेटिएको भारतको नक्सा आएको आरोप लगाएका छन्।

शनिबार पोखरामा भएको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। ‘भारतले ओलीसँग कुनै सम्झौता गरेरै कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नयाँ नक्सा गाभ्नेगरी गरेको हुनसक्छ,’ देउवाले भने, ‘अहिले नेपाली सिमा मिचिदा पनि सरकारले कुनै उच्चस्तरीय कूटनीतिक पहल नगरेर सहमतिमा नक्सा जारी भएको पुष्टि गरेको छ।’ ‘नत्र नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको कुटनीतिक पहल गर्दैन।

त्यही भएर केपी ओलीको सहमतिमा भारतले नक्सा जारी गरेको पुष्टि हुन्छ।’ उनले वर्तमान सरकारले जनताको दुखहरु बिर्सेर ढाडसेक्ने गरी कर बढाएको आरोप लगाए। उनले ओली सरकार भ्रष्टचारी भएको पनि आरोप लगाए।

‘जनतालाई ढाड सेक्नेगरी कर थोपर्ने र भ्रष्टाचार कसरी गर्ने भन्नेबाहेक अहिलेको सरकारको ध्यान छैन,’ उनले भने। सरकारको अनावश्यक रवैया देखाएको भन्दै उपनिर्वाचनमा परास्त पार्न उनले मतदातालाई आग्रह गरे।

‘सरकार दिनदिनै जनविरोधी गतिविधि गर्न लागि परेको छ,’ उनले भने, ‘उपनिर्वाचन कांग्रेसलाई मतदान गर्नुस यो सरकारलाई थप भ्रष्टचारी हुनबाट जोगाउन कांग्रेस लागि परेको छ।’ उनले उपनिर्वाचनमा कांग्रेसका उमेद्वार खेमराज पौडेललाई जिताए समग्र लोकतन्त्रको जित हुने पनि बताए।

‘वर्षौंदेखि कास्कीका जनताको सेवा गरेका खेमराजजी अहिले तपाईँहरुको उम्मेदवार बन्नुभएको। मलाई विश्वास छ तपाईँहरुको मत मनबाटै उहाँलाई हुनेछ,’ उनले भने। कास्कीको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्न कांग्रेसका केन्द्रिय नेताहरु यतिबेला पोखरामा छन्।