१२ बैशाख २०८१, बुधबार

नेताहरु मेरा प्रयासलाई विफल बनाउन लागिरहे, त्यसैले नयाँ निर्वाचन मेरो छनोटमा पर्‍यो : प्रधानमन्त्री ओली

kp oli pPzc4lRUsK

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रियतामा ऐतिहासिक रुपमा सदृढ गरेको भन्दै त्यसबाट नेताहरु आत्तिएको बताएका छन् ।

देशवासीलाई गरेको सम्बोधनका क्रममा उनले आफ्नो तीनवर्षे कार्याकालमा धेरै सुधार गरेको र केही विषयमा फड्को मारेको दाबी गरेका छन् । ‘‘सरकारले राष्ट्रियतालाई सुदृढ गर्न महत्त्वपूर्ण काम गर्‍यो । सीमा समस्या समाधान गर्न वार्ताको प्रयास गरिरहेको छ, चीनसँग पारवहन सम्झौता कार्यान्वयनका प्रयास भइरहेका छन्,’’ ओलीले भने, ‘‘आजभन्दा चार वर्षअघिका परिदृष्यहरु याद गर्छु । थुप्रै प्रतिकूलताका बाबजुद नेपालले तीन वर्षमा धेरै प्रगति गरेको छ, कतिपय क्षेत्रमा फड्को मारेको छ ।’’

उनले शान्ति सुरक्षाको अवस्थामा सुधार गरेको र सुशासनमा पनि सुधार आएको भन्दै सबैभन्दा धेरै प्रश्न उठेको विषयलाई नै उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् । ‘‘पृथकतावादी प्रवृतिको अन्त्य गरिएको छ,’’ ओलीले प्रश्न गर्दै भनेका छन्, ‘‘सुशासनमा सुधार र शान्ति सुरक्षाको अवस्थामा आएको सुधारबाट पार्टीका नेताहरु खुसी हुनुपर्ने होइन र ?’’

उनले पार्टीका नेताहरु सरकारको कामबाट खुसी हुनुपर्नेमा पदको बार्गेनिङमा केन्द्रित भएको आरोप लगाएका छन् । ‘‘नेताहरु सधैं भागबन्डाका बार्गेनिङमा केन्द्रित भए, प्रतिपक्षले आफ्नो पोजिसन बनाउनका लागि काम गर्नु उसको धर्म हुन्थ्यो होला, तर, नेताहरुले प्रतिपक्षभन्दा पनि बढि आलोचनात्मक मात्र भएनन् । मेरा प्रयासलाई विफल बनाउन लागिरहे । त्यसैले नयाँ निर्वाचन मेरो छनोटमा पर्‍यो ।’’

‘पार्टीमा केपी ओलीको केही योगदान छैन भन्नेहरूलाई लोकप्रियताको मापन गर्ने अवसर सिर्जना भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा पुग्ने नेतालाई पनि अवसर छ।’ 

चुनाव लोकतन्त्रको उन्नत अभ्यास भएको भन्दै उनले सरकारले काम गर्न नसके पुनरावेदन गर्न जाने ठाउँ निर्वाचन भएको बताए।

कुनै पनि कुरामा नअल्मलिकन निर्वाचनमा केन्द्रित हुन उनले सबैलाई अनुरोध गरे।