१५ बैशाख २०८१, शनिबार

सरकारले जनताको आवश्यकतामा ध्यान नदिएको महामन्त्री डा कोइरालाको आरोप

shashank koirala

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आरोप लगाउनुभएको छ । कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित विरोधसभामा उहाँले सरकार कोभिड–१९ लाई नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको आरोप लगाउनुभयो ।

अहिलेको सरकारले करीब तीन वर्षका अवधिमा पनि रचनात्मक काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री डा कोइरालाले सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेतालाई पनि दुव्र्यवहार गरिएको भनी आपत्ति जनाउनुभयो ।

उहाँले आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउन तरुणहरुलाई एक जुट भएर पार्टीको काममा लाग्न निर्देशन दिँदै डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाइने सङ्कल्प गर्नुभयो । सो विरोधसभा हुनुभन्दा पहिले स्थानीय शहीद रङ्गशालाबाट निस्किएको ¥यालीले बजारका विभिन्न भागको परिक्रमा गरी ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक संविधानको रक्षा गरौँ’ नारा लगाएका थिए ।

कांग्रेसलाई सत्ता प्यारो छैन : डा रिजाल

दमौली– कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताउनुभएको छ । कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गर्नुभयो । “गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ”, उहाँले भन्नुभयो । वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको डा रिजालको आरोप थियो ।

संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोज्ने कार्य कांग्रेसलाई असह्य रहेको बताउनुभयो ।

कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले सरकारले राम्रो काम नगरेको जनाउँदै सोही कारण कांग्रेस आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । महासमिति सदस्य रामचन्द्र पोखरेलले कांग्रेसलाई निषेध गर्न खोजिएको जनाउँदै सोही कारण आन्दोलन गर्नुपरेको बताउनुभयो । कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभासद् डोबाटे विक, सरिता गुरुङलगायतले सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।

कलैया– कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ । कांगे्रस जिल्ला कार्यसमितिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री मन्सुरले नेपाली जनताको भवना विपरीत कार्य गर्दै मुलुकमा भ्रष्टाचार र बेथिति बढाएको आरोप लगाउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री उमाकान्त चौधरीले तराई–मधेशका जनताको हित कांग्रेसले मात्र गर्ने जिकिर गर्दै मधेशवादी दलले पनि सत्ता र शक्तिका लागि मधेशका जनतालाई ठगिरहेको आरोप लगाउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य राधेचन्द्र यादवले सरकारल प्रेस, अदालत, संवैधानिक निकाय, प्रहरी, प्रशासन नियन्त्रणमा लिएर देशमा शासन चलाउन लागेको आरोप लगाउनुभयो ।

कांग्रेस बाराका कार्यवाहक सभापति सुरेन्द्रप्रसाद कलवारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सदस्य वृजलाल यादव, पूर्वमन्त्री कलावती पासवान, तत्कालीन संविधानसभा सदस्य लालबाबु सिंह, मधु शाही, पार्टीका सचिव मनोज भट्ट, हरेन्द्र यादव, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्रीय सभापति सुनिल गुप्ता, विजयशङ्कर यादव, निगगढ नगरपालिकाका सभापति मधेशी कुँवर, कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादव, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, तरुण दल बाराका अध्यक्ष लुकेश सिंहलगायतले सरकारको विरोधमा आफ्नो कुरा राखेको कांग्रेसका महासमिति सदस्य उपेन्द्र जसवालले जानकारी दिनुभयो ।