१६ चैत्र २०८०, शुक्रबार

परीक्षण कम हुँदा सङ्क्रमण पनि कम, १८ जनाको निधन

corona contract tracing

कोभिड–१९ को पिसिआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा सङ्क्रमित पनि कम भएको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४२३ जनामा गरिएको परीक्षणमा ८२१ जनामा सङ्क्रमण देखिएको छ । आइतबार पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शङ्का र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले सङ्क्रमित दर घटेको बताउनुभयो । उहाँका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन् । आज देखिएका सङ्क्रमितमध्ये ३१७ जना महिला र ५०४ जना पुरुष रहेका छन् । आज थपिएकासँगै मुलुकभरि सङ्क्रमितको अवस्था दुई लाख ४९ हजार २४४ जना पुगेको छ । काठमाडौँ उपत्यकामा ३३३ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये १४२ जना पुरुष र १९१ जना महिला रहेका छन् ।

सङ्क्रमितमध्ये २७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमध्ये प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा आठ जना, वाग्मती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा पाँच जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन् । भेन्टिलेटरमा प्रदेशन नं १ मा तीन जना, प्रदेश नं २ मा एक जना, वाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा तीन जना रहेका छन् । सङ्क्रमितमध्ये सात हजार ३४० जना होमआइसोलेशनमा छन् ।

८४२ निको

सङ्क्रमितमध्ये आज ८४२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको भई घर फर्किनेको दर ९४.९ प्रतिशत रहेको छ । नेपालमा निको हुने दर पनि बढेको छ । यसअघि यही मङ्सिर २६ गते निको हुने दर ९४.४ रहेको थियो । अहिलेसम्म निको हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५७३ जना रहेको छ ।

१८ जनाको निधन

सङ्क्रमणबाट बितेको २४ घण्टामा १८ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७१६ जना पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये ०.६८ प्रतिशतको निधन हुने गरेको छ । अहिलेसम्म प्रति १० लाखमा ५८.८ जनाको निधन भएको छ ।