२३ बैशाख २०८१, आईतवार

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो: अध्यक्ष प्रचण्ड

kaman singh lama

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो ।

विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मनुभएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य हुनुभएको थियो । विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बन्नुभएका उहाँले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताउनुभएको छ ।

आज दिनुभएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहनुभएको स्मरण गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।”

अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ ।