
रुकुम पश्चिम, आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।
आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा सोही वडाका चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आठविसकोट नगरपालिका–८ दाजेबाट घारीखोला फर्कन क्रममा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको डिएसपी केसीले बताए ।
रोकेर यात्रु ओरालिरहेको गाडी एक्कासी पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अघिल्लो सिटमा बसेकालाई ओरालेर पछाडीका यात्रु झार्ने क्रममा जिप पछि सरेको बताइएको छ । पछाडि बसेकाहरु झर्नै नपाई दुर्घटनामा परेका हुन् । पछि सरेर जिप एक सय मिटर तल पुगेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार छन् ।