१६ बैशाख २०८१, आईतवार

जनस्वास्थ्य कार्यालयको नयाँ भवन निर्मित

khotang hospital

खोटाङ जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको रु दुई करोड ३६ लाख ६९ हजार ९२२ लागतमा बनेको तीनतले भवन शुक्रबार निर्माण कम्पनीले जनस्वास्थ्य कार्यालयलाई बुझाएको छ ।

खानी निर्माण सेवा कम्पनीले चार वर्ष लगाएर निर्माण गरेको भवनमा २८ वटा कोठा छन् । भवनभित्रै चिसो र तातोपानीको व्यवस्था रहने गरी भौतिक संरचना निर्माण गरिएको निर्माण कम्पनीका प्रतिनिधि दिनेश पौडेलले जानकारी दिनुभयो ।

भवनको पहिलो तलामा प्रयोगशाला तथा आकस्मिक कक्षसहितको सेवा उपलब्ध गराउने गरी तयारी गरिएको अस्पताल विकास तथा सञ्चालक समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । दोस्रो तलामा कार्यालय रहने र तेस्रो तलामा कर्मचारी आवास रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

विसं २०७३ वैशाख ३० गते सम्झौता गरेर २०७७ असोज ३० गते भवन निर्माण सम्पन्न गरिए पनि कोभिड–१९का कारण भवन हस्तान्तरणमा केही ढिलाइ भएको थियो । नयाँ भवनबाट कार्यालयका सम्पूर्ण उपकरण व्यवस्थापन गरी चाँडै सेवासुविधा उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख छविलाल आचार्यले जानकारी दिनुभयो ।

विसं २०४८ मा स्थापित जिल्ला अस्पतालमा भौतिक संरचना नहुँदा कार्यसम्पादनमा समस्या हुँदै आएको थियो । स्थापनाकालदेखि हालसम्म १५ शय्या सञ्चालन हुँदै आएको जिल्लाको एक मात्र सरकारी अस्पताललाई यस वर्ष ५० शय्यामा स्तरोन्नति गर्ने तयारी गरिएको जनाइएको छ ।