१४ बैशाख २०८१, शुक्रबार

सोल्मामा कृषि तथा पशु प्रयोगशाला स्थापना

Diktel Rupakot Majhuwagadhi Municipality

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ । नगरपालिकाको रु चार लाख ९६ हजारको लागतमा वडा नं २ सोल्मास्थित प्राङ्गारिक मल तथा बायोग्यास उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो ।

ल्याब स्थापना भएपछि महिना दिनसम्म लगाएर खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ । सोल्मामा स्थापना गरिएको ल्यामार्फत ४८ घण्टामै परीक्षणको रिपोर्ट आउने जनाइएको छ । पशु क्षेत्रतर्फ कृत्रिम गर्भधारण, पशुपक्षीको स्वास्थ्य परीक्षणलगायतका काम ल्यालबाट नै प्रवाह हुने भएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाले शनिबार नै नगरभित्रका १५ वटै वडा कार्यालयलाई रु चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई कृषि सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको अवस्थामा कोरोना भाइरसको महामारी फैलिएपछि रोजगारी गुमाएर जन्मथलो फर्किएका १०० युवालाई कृषि पेशामा आबद्ध गराउने उद्देश्यका साथ कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरपालिकाले व्यावसायिक कृषिखेती गर्दा आवश्यक पर्ने विषादीसहित थोपा सिँचाइ सेट, आइएम सामग्री, सिलपौलिन प्लाष्टिक टनेललगायतका सामग्री उपलब्ध गराएको छ । नगरपालिकाको १५ वटै वडा कार्यालयबाट सिफारिस भएर आएका युवालाई स्वीस सरकारअन्तर्गत हेल्भेटासको आर्थिक सहयोगमा कृषि सामग्रीका साथै तालिमसमेत दिइएको कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो ।

परम्परागतरूपमा गरिँदै आइएको कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण गर्न नगरपालिकाको तर्फबाट कृषक तथा कृषक समूहलाई अनुदानसमेत दिने व्यवस्था गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “वैदेशिक रोजगारीका लागि युवापुस्ता विदेशिनेक्रम बढेसँगै खेतीयोग्य जमिन बाँभिएका छन्”, उहाँले भन्नुभयो, “जनशक्ति अभावमा वर्षौँदेखि बाँझिएको जग्गामा व्यावसायिक खेती गर्ने युवालाई नगरपालिकाको तर्फबाट अनुदानसमेत दिने व्यवस्था गरिएको छ ।”

नगरपालिकाले कृषक तथा कृषक समूहलाई बाख्रापालनका लागि उन्नत जातको बोयर बोका, च्याउखेतीका लागि बीउ, फलफूल खेतीका लागि सुन्तला तथा कागतीको बेर्ना, गोलभेँडा खेतीका लागि प्लाष्टिक टनेललगायत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले कृषि सामग्री उपलब्ध गराउनुका साथै तालिमसमेत दिन थालेपछि युवापुस्ता कृषि पेशाप्रति आकर्षित हुँदै गएका छन् ।