५ जेष्ठ २०८१, शनिबार

वृद्धाको हत्या अभियोगमा एक पक्राउ

muder

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला निवासी वृद्धाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । ६७ वर्षीया तेजकुमारी ढकालको हत्या अभियोगमा प्रहरीले गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनी बस्ने ४६ वर्षीय शिव गौतमलाई दमौली बजारबाट पक्राउ गरेको हो ।

वृद्धाको हत्या भएको अवस्थामा आज बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही फरार रहेका गौतमलाई व्यास नगरपालिका–२ स्थित सहिदगेटमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

ढकालको शव आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधी मृतावस्थामा फेला परेको थियो । ढकालको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । शव फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । “घटनास्थलमा कुकुर समेत परिचालित गरी सुक्ष्मरुपमा अनुसन्धान गर्दा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई दमौली बजारबाट पक्राउ गरेका छौ”, प्रहरी उपरिक्षक पौडेलले भन्नुभयो, “थप अनुसन्धान जारी छ ।”

ढकालका श्रीमान् र बुहारी सोही वडाको स्वाँरामा बस्दै आएका छन् । जेठो छोराको घर पनि नजिकै छ । बिहान ७ः०० बजे ज्वाइँले ती वृद्धाको घरको पिढीँमा दूध राखेर अन्यत्र दूध पु¥याउन गएका थिए । फर्केर आउँदा पनि पिढीँमै दूध देखेपछि उनी घरभित्र पसेका थिए । घरको ढोका खुल्ला अवस्थामा थियो । भित्र हेर्दा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ ।