२३ बैशाख २०८१, आईतवार

चितुवा नियन्त्रणमा

chituwa

तनहुँको भानु नगरपालिका–३ तुलुङकोटमा खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले थापेको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चार÷पाँच दिन अगाडी थापेको खोरमा चितुवा नियन्त्रणमा आएको जानकारी दिनुभयो । त्यो ठाउँमा एक व्यक्तिको कुखुरा खोरमा पसेर कुखुरा मारिदिएको भन्ने गुनासो आएपछि खोर थापेको उहाँको भनाइ छ ।

तुलुङकोटका सन्तबहादुर तामाङको कुखुरा खोरमा छिरेर चितुवाले विगत केही समयदेखि कुखुरा मारेको थियो । गत साउन १८ र १९ गते चितुवाले कुखुराको खोरमा रहेका चार सय भन्दाबढी कुखुरा मारेको थियो । त्यस्तै असोज १ गते ५३०, असोज ३ गते १३० कुखुरा मारेको र ५३५ भन्दाबढी कुखुरा घाइते बनाएको तामाङले जानकारी दिनुभयो । चितुवाले दुःख दिएपछि नियन्त्रणको माग र क्षतिपूर्तिसहित तामाङले डिभिजन वन कार्यालयमा निवेदन दिनुभएको थियो ।