२१ बैशाख २०८२, आईतवार

आईपीएलमा मुम्बई विजयी, कोलकत्ता ४९ रनले पराजित

James Pattinson MI

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता टोली मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । 

बुधबार राति भएको खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको हो । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकत्ताले पूरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बई साविक विजेता टिम हो ।

मुम्बईले १३ औं संस्करणको आईपीएलमा पहिलो जित दर्ता गरेको छ । मुम्बई पहिलो खेलमा चेन्नेईसँग पराजित भएको थियो । शेख जायद स्टेडियममा भएको खेलमा कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए । इयान मोर्गन १६ रनमा आउट हुँदा आन्द्रे रसेल ११ रनमा पेभेलियन फर्किए ।

मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले २/२ विकेट लिए । किरोन पोलार्डले १ विकेट लिए । मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । उनले आईपीएलमा २०० सय छक्का पूरा गरेका छन् ।

यस्तै सूर्यकुमार यादवले ४७ रन जोड्दा सौरभ तिवारीले २१ रन बनाए । हार्दिक पाण्डेयले १८ रन जोडे । कोलकत्ताका शिवम माभीले २ विकेट लिए । सुनिल नारिने र आन्द्रे रसेलले १/१ विकेट लिए । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ ।