१५ बैशाख २०८१, शनिबार

कालिकोटमा देखिन थाले औलो रोगका बिरामी

dengue mosquito

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा औलो रोगका बिरामी देखिन थालेका छन् । तराई क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग पहाडमा देखिन थालेको हो । पहाडी जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो रोगका बिरामी भेटिन थालेका छन् ।

जिल्ला अस्पताल कालिकोटले गरेको परीक्षणमा खाँडाचक्र–२ का बाहिरी जिल्लाका एक र चार स्थानीय गरी पाँच जनामा औलो रोग देखिएको छ । औलो रोग देखिएपछि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट डा मदन कोइरालाको नेतृत्वमा चिकित्सकीय अनुसन्धान टोली कालिकोट पुगेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताउनुभयो ।

यो औलो रोग मान्छेबाट मान्छेमा नसर्ने र यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने सेजुवालले बताउनुभयो । पहिला पहिला पहाडी जिल्लामा औलोका बिरामी भेटाउन मुस्किल हुने गरेको तर अहिले लामखट्टेका कारणले औलो रोगका बिरामी भेटिन थालेको स्वास्थ्य शाखा प्रमुख सेजुवालले बताउनुभयो । “तराईमा मात्र विगतमा लामखुट्टे देखिने गरेका थिए”, उहाँले भन्नुभयो, “अहिले लामखुट्टे पहाडमा देखिन थालेका कारणले पनि औलो रोगका बिरामी पहाडमा देखिन थालेका हुन् ।”