१४ बैशाख २०८१, शुक्रबार

स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने

hospital
सांकेतिक तस्विर

जुम्लाका आठवटै स्थानीय तहमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि पाँच शय्याको कोरोना अस्थायी अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच शय्याको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि यहाँका स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणमा जुटेका हुन् ।

अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा रु १० लाखका दरले बजेट निकासा भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक गशेषबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था हुनेछ”, उहाँले भन्नुभयो, “यसका लागि खुल्ला प्रतिस्पर्धाबाट स्थानीय तहले जनशक्ति पदपूर्ति गर्नेछन् ।”

जिल्लाका तिला, हिमा, सिञ्जा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिमा पाँच शय्याका कोभिड अस्थायी अस्पताल निर्माण हुने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

पाँच वटा स्वास्थ्य चौकी भवन निर्माण हुँदै

यहाँको तिला गाउँपालिकाका पाँच वडामा स्वास्थ्य चौकी निर्माण हुने भएका छन् । सङ्घीय सरकारको बजेटले सो गाउँपालिकाको वडा नं. १, ४, ५, ७ र ९ वडामा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । एक वडामा एक स्वास्थ्य चौकी र गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले रु एक करोड ९४ लाख ३० हजारमा पाँच वटा भवन निर्माण गर्न लागेको गाउँपालिका इन्जिनीयर जनक रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा भवन निर्माणका लागि रु ३८ लाख ८६ हजार रकम विनियोजन भएको छ ।” तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी स्वास्थ्य चौकी भवन निर्माण हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत असार २२ गते बोलपत्र प्रकाशित भएपछि परेका आवेदनलाई एक हप्ताभित्र छनौट गरी निर्माण कार्य अघि बढ्नेछ ।”