१४ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीमा नयाँ आचारसंहिता : सामाजिक सञ्जालको प्रयोगमा कडाई, पोसाकदेखि सलामीसम्ममा नियम

police
तस्बिर : प्रहरी प्रधान कार्यालय

प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश–२०७७ र नेपाल प्रहरी कार्ययोजना–२०७७ सार्वजनिक भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आइतबार आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक तथा नेपाल प्रहरी कार्ययोजना–२०७७ शुरुवात गरेका हुन् ।

कार्यादेश सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न निर्देशन दिएका छन् । कार्यदेशको फलोअप गर्द जानुपर्नेमा जोड दिँदै आईजीपी क्षेत्रीले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुग्ने विश्वास दिलाए ।

जारी कार्यादेशमा प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नुपर्दा अनिवार्य रुपमा सेवाग्राहीसँग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा देयभाव नराखी समान व्यवहार गनुुपर्ने उल्लेख छ । प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउने गरी काम गर्नुपर्ने छ ।

अनुमति बिना विदेशी नियोग, कूटनीतिज्ञ व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाहीको भागिदार हुनुपर्ने कार्यादेशमा स्पष्ट उल्लेख गरिएको छ । कार्यादेशमा व्यक्तिगत स्वार्थपूर्ति वा आफ्नो व्यक्तिगत लोकप्रियताको लालचमा सञ्चारमाध्यममा सूचना चुहावट वा सम्प्रेषण गर्न नपाइने व्यवस्था छ ।

सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतंककारी गतिविधिलिाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरुमा लाइक, कमेन्ट, सेयर, ट्याग, ट्वीट तथा रि–ट्वीट गर्न नपाइने नयाँ आचारसंहितामा व्यवस्था गरिएको छ ।

हालै जारी गरिएको कार्यादेशमा अभिवादनस्वरुप हात मिलाउनु स्वभाविक भएपनि विपरति लिङ्गीलाई मौका पाउनासाथ थपथपाउने वा मुसार्ने, टाँसिने, छुने, चिमोट्ने, धाप मार्ने जस्तालगायतका गतिविधिमा रोक लगाइएको छ ।

जाति विशेष, लिंग विशेष, धर्म विशेष, सम्प्रादय विशेष, शरीर विशेषका आधारमा होच्याउन नपाइने नयाँ व्यवस्था जारी भएको छ । प्रहरी कर्मचारीले समयको पालना गर्ने, व्यक्तिगत आचारण तथा अनुशासनका रही आफ्नो काम, कर्तव्य इमान्दारी र तत्परताका साथ पालना गर्नुपर्ने कार्यादेशमा उल्लेख छ ।

कार्यादेशको पालना भए/नभएको प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा गठित छुट्टाछुट्टै अनुगमन समितिले अनुगमन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी संगठनभित्रको आचरण र व्यवहारका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको र सो कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताए ।

‘प्रहरी संगठनभित्रको विभिन्न नियम पालनाका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको हो । कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास छ,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने ।

कार्यादेशमा जनसम्पर्क तथा भेटघाटसम्बन्धी व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, सञ्चार माध्यमसँगको सम्बन्ध, पोसाकप्रतिको व्यवहार, राष्ट्रिय झन्डाप्रतिको सम्मान, सलामीसम्बन्धी व्यवस्था र सम्मान तथा भान्छामा गरिनुपर्ने व्यवहारलगायतलाई स्पष्ट पारिएको छ ।

कार्यक्रममा महानिरीक्षक क्षत्रीले प्रहरी संगठनमा व्यावसायिकता नै मुख्य भएकाले सडकमा समेत व्यावसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

उनले विश्व महामारीका रूपमा रहेको कोभिड–१९ लाई सबैको साझा शत्रुका रूपमा लिएर नियन्त्रणमा एक भएर लाग्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा उनले नेपाल प्रहरी कार्ययोजना २०७७ को इमप्लिमेन्टेनसन ट्र्याकिङ सफ्टवेयरको समेत शुभारम्भ गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू सहभागी थिए भने प्रदेश प्रहरी प्रमुखको भर्चुअल्ली उपस्थिति रहेको थियो ।