११ बैशाख २०८१, मंगलवार

अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय

Pradip Gyawalia Minister

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड १९ जोखिमलाई दृष्टिगत गरेर सीमा नाका बन्द नै राख्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।   

यसअघि भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय भएकामा कोभिड –१९ को सङ्क्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

नेपाल प्रवेश गर्ने सबै नाका र खुला सीमाबाट हुने सबै प्रकार गतिविधि समेत यस अवधिमा बन्द रहनेछन्। तर, समस्यामा परेका नागरिकलाई भने निश्चित विन्दुबाट प्रवेश भने खुला रहनेछन्।

उनका अनुसार समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतसंग सीमा जोडिएका १२ प्रमुख नाकाबाट प्रवेश गर्न दिइएको छ । सरकारले इलामको पशुपतिनगर र दार्चुलाको खलंगा नाका पनि खुला गर्ने निर्णय गरेको हो।

यसअघि १० नाका खुला गरिएकामा मन्त्रिपरिषद् बैठकले थप दुई नाका इलामको पशुपतिनगर र दार्चुलाको खलङ्गाको नाकाबाट पनि मानिस आउनका लागि निर्णय गरेको छ ।

यस्तै चीनतर्फको रसुवाको नाकाबाट पनि प्रवेशका लागि अनुमति दिने निर्णय सरकारले गरेको उनले बताए । उनले सङ्क्रमण बढ्दै गए स्थानीय प्रशासनलाई स्थानीय ऐनअनुसार थप निर्णय गर्ने अधिकार दिइएको जानकारी दिए ।