१६ चैत्र २०८०, शुक्रबार

दबाब बढेपछि दूधको मूल्य बढाउन कार्यदल गठन

milk packet nepal

काठमाडौँ — सरकारले दूधको मूल्य बढाउन ८ सदस्यीय ‘मूल्य सिफारिस समिति’ गठन गरेको छ । केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य बढाउन दबाब दिएपछि सरकारले बजार विश्लेषण गर्न समिति गठन गरेको हो ।

‘दूधको मूल्य बढाउने सन्दर्भमा सबै सरोकारवाला निकायसहित मंगलबार र बुधबार छलफल भएको छ । बजारमूल्य विश्लेषण गर्न समिति गठन भयो,’ समिति संयोजक एवं राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले भने, ‘मूल्यको सन्दर्भमा आइतबार बैठक बसेर टुंगो लगाउँछौ । भदौ १ बाटै मूल्य वृद्धि सम्भव छैन,’ उनका अनुसार समितिमा कृषि मन्त्रालय, बोर्ड, दुग्ध विकास संस्थान, उद्योगी, व्यवसायीलगायत सबै सरोकारवालाहरू छन् ।

संघले दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएपछि कृषि मन्त्रालय पनि मूल्य बढाउन सकारात्मक देखिएको छ । सोहीअनुसार कृषि मन्त्रालय, बोर्ड, दुग्ध विकास संस्थान, दुग्ध सहकारी संघ, डेरी एसोसिएसन र संघसहित मंगलबार छलफल भएको थियो । सहकारी संघले प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका थिए ।

डेरी उद्योगका अधिकारीहरूले भने ६ देखि ८ रुपैयाँसम्म बढाउन सुझाव दिएको छलफलमा सहभागीहरू बताउँछन् । चाडबाडकै मुखमा मूल्यवृद्धि हुँदा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालयका तर्फबाट सहभागी कर्मचारीहरू पछि हटेका थिए । त्यसपश्चात मंगलबारको बैठकले बजार अध्ययन र विश्लेषण गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

स्रोत : कान्तिपुर दैनिक