१४ बैशाख २०८१, शुक्रबार

६३ वर्षीय हरिबहादुर जसले हँसिया हानेर आक्रमण गर्ने चितुवा मारे !

haribahadur leopard

बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बालकलाई आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापा चितुवासँग भिडेका थिए।

साम्दी गाउँमा आइतबार बिहानै चितुवा पसेको हुनाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए। गाउँलेहरूले चितुवा भगाउन होहल्ला गरेपनि चितुवाले भने गाउँ छाडेको रहेनछ।

पौने आठ बजेतिर चितुवा स्थानीय हरिबहादुर थापाको घरछेउ आइपुगेको थियो ।

गाउँमा बाँदर पनि आइरहन्थ्यो।

‘गाउँलेहरूले हैट‘ हैट‘ गरिरहेका थिए। घरछेउको गल्लीमा केही उफ्रिएजस्तो लाग्यो। बाँदर हो कि भनेर खले गराको डिलबाट गल्लीतिर हेरेकोमात्रै थिएँ, बुर्लुक्क उफ्रेर चितुवा पो ममाथि जाइलाग्यो,’ घाइते थापाले भने, ‘पाँच मिनेटजति म र चितुवाबीच घम्साघम्सी भइरह्यो।’

हातमा हँसिया रहेको बेला उक्त चितुवाले बालकमाथि आक्रमण गर्न खोजेपछि हरिबहादुर थापाले हँसिया प्रहार गरेका थिए ।

‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथोर्‍यो,’ उनले भने, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें। हँसिया चितुवाको नाकमा लागेछ।’ त्यसपछि दुवै भुइँमा ढलेछन्।

चितुवा उठेर फेरि आक्रमण गर्न आएपछि चितुवाको घाँटीमै हँसियाले हानिदिए हरिबहादुरले ।

‘एकअर्कोले आक्रमण गरिरह्यौं,’ उनले भने, ‘हातको औंला टोकिदिएको छ। खुट्टाका घुँडामा चिथोरेको छ। पाखुरामा गहिरो गरी नङ्ग्राले कोपरिदिएको छ। तैपनि मैले चितुवालाई छाडिनँ, हँसियाले हानेर मारिदिएँ।’

थापा अहिले लमजुङ सामुदायिक अस्पतालमा उपचाररत छन्। उनको थप उपचारका लागि टेकु ल्याउने तयारी गरे पनि कोरोनाका डरले गर्दा ल्याउने कि नल्याउने निर्णयमा आफन्त पुगिसकेका छैनन्।

६८ वर्षीय थापा नेपाली सेनाका पूर्वलप्टन हुन्।

थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने ।

मारिएको चितुवालाई जिल्ला वन कार्यालयका कर्मचारीले व्यवस्थापन गर्ने तयारी गरेका छन्।

बेशीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले घाइते थापाको उपचार भइरहेको जानकारी दिए। ‘उहाँलाई आक्रमण गर्न आएको चितुवालाई उहाँले नै मारिदिनुभएछ। उहाँ घाइते हुनुहुन्छ, उपचार जारी छ,’ उनले भने।