१५ बैशाख २०८१, शनिबार

वैदेशिक रोजगारीका पीडा भिडियोमा

Birano Desh

हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ

धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो । नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ । वैदेशिक रोजगारमा उसले कस्ता दुःख पाउँछ, त्यही विषयवस्तुलाई समेटेर पत्रकार अमरराज नहर्कीद्वारा रचित “बिरानो देश” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बत्ती झलमल
कसको छ र परदेशमा आउनलाई मन
रुदै रुदै आएको म कमाउनलाई धन

नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारी र युवाहरुको अवस्थाका बारेमा चित्रण गरेर गीत रचना गरिएको पत्रकार नहर्कीले जानकारी दिनुभयो । “नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारीले रेमिट्यान्स त भित्र्याएको छ तर साथैमा हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरू पनि दिएको छ,” नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं गोरखापत्र दैनिकका संवाददता नहर्कीले भन्नुभयो, “यस्तै सपनाहरू र चोटहरू मिसिएको कथालाई म्यूजिक भिडियोमार्फत् सार्वजनिक गरेका छौ ।”

पत्रकार समुन्द्र पौडेलको निर्देशन रहेको गीतमा गायक नवराज थापाले आवाज दिनुभएको छ । भिडियोमा सुदीप पौडेल र पूजा केसीको अभिनय रहेको छ ।