८ बैशाख २०८१, शनिबार

सधैँ पुरानै गीतहरूको दबदबा दसैँमा, क्षणिकमै हराएर गए नयाँ गीत

song scaled 1

नेपालीहरुको महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहरबजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । एक हिसाबले भन्नुपर्दा दसैँका गीत नबज्दासम्म दसैँ आएको हो वा होइन भन्ने भान हुने अवस्था आइसकेको छ । जे होस्, आफूभन्दा ठूलाबडाको आर्शिवादसहित जमरा र टिका लगाउनु, घरपरिवार र साथीभाइसँग रमाइलो उत्सवमा भुल्नु दशैंको माहोल हो जसले सबैलाई छुन्छ ।

गाउँटोलमा दसैँ लागेको महसुस ‘दसैँ आयो’, ‘दसैँ–तिहार’, ‘फौजीलाई कुन हो दसैँ’ र ‘दसैँ नै हो कि यो मेरो दशा’ गीतले दसैँको छेकोमा खुबै दसैँलागेको महशुस गराउँछन् । एक दशकभन्दा लामो समयदेखि दसैँमा यी गीतहरूको वर्चस्व छ । यीबाहेक अन्य गीतहरू विरलै सुन्न पाइन्‍छ ।

दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो ‘दसैँ आयो’ । परदेशमा रहेकाहरू गाउँ फर्केको, दसैँमा ठूलाबडाबाट टीकासँगै आशीर्वाद लिएको, पिङ खेलेको, गाउँमा उमङ्ग छाएको यस्तैयस्तै आभास यो गीतले दिन्छ। दसैँका बेला गाउँशहरमा धेरै बज्ने गीत हो यो । शेखर कोइराला निर्मित नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ । यो गीतलाई विस्थापित गर्ने अरू दशैँ गीत अहिलेसम्म बन्न सकेका छैनन् ।

दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान् । दुई दशक अगाडि तयार भएको यो गीतले क्यासेट हुँदै डिजिटल पुस्तासम्मलाई आफ्नो स्रोता तथा दर्शक बनाइसकेको छ । गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द र अमुल कार्कीको एरेन्ज छ ।

गीतको अडियो जति कर्णप्रिय छ, भिडियो उत्तिकै आकर्षक पनि छ । पैसा कमाउने उद्देश्यले विदेश गएका युवाहरूले दशैँ आएपछि गाउने गीतका रूपमा यसलाई प्रस्तुत गरिएको छ । गीतको अडियोले दसैँको आभास दिलाउँछ भने भिडियोले दसैँको रमझम देखाउँछ । यो गीत तयार गर्दा कथाअनुसार गर्नुपर्ने भएकोले संगीतकार अधिकारीलाई सहज थिएन । ‘निर्देशक शिव रेग्मीले ‘चरी र रि…’ भन्ने शब्द ल्याएका थिए , त्यसमा मैले रहैरहै थपेँ र त्यसलाई गीतको आकार दियौँ’, अधिकारी भन्छन् ।

यो गीतको ऐरेन्ज नेपालमा गरिएको थियो भने रेकर्ड मुम्बईको शान स्टुडियोमा भएको थियो । गीत रेकर्ड गराएपछि मुम्बईमा गायक उदितनारायण झा र गायिका दिपानारायण झाले यो गीतको प्रशंसा गरेका थिए । ‘सुरेशजी गीत त धेरै गाइयो तर हामीलाई आउँदो पुस्तासम्म पुर्‍याउनेमध्येको एक गीत यो हुनेछ’ उदीतले दिएको प्रतिक्रिया अहिले सिद्ध भएको संगीतकार अधिकारी बताउछन् ।

‘उनी पुग्ने प्राय: ठाउँमा दसैँ गीतले मलाई जीवन्त राख्नेमा दुइमत छैन ‘अधिकारी भन्छन्’, गीतको शब्द, संगीत, स्वरसँगै तयार भएको भिडियोले यसलाई प्रिय बनाएको छ ।’

यसैगरी, सुगम पोखरेलको ‘दसैँ–तिहार’ बोलको गीत पनि दसैँमा धेरै गुञ्जिने र सबैको मुखमा झुन्डिने गीत हो । परदेशी नेपालीको बेदना बोल्ने यो गीतले नेपालमा मात्र होइन, प्रवासमा रहेका नेपालीहरूलाई समेत दसैँ सम्झाउँछ । सुगमको यो ‘दसैँ-तिहार’ गीत रेकर्ड भएको एक दशक वितिसकेको छ। २०११ मा सार्वजनिक भएको यस गीतको चर्चा अहिले पनि उस्तै छ ।

यस गीतले सार्वजनिक भएको केही वर्ष चर्चा पाएको थिएन । सार्वजनिक भएको चार वर्षपछि यो गीत एकाएक चर्चामा आयो । पछिल्लो केही वर्षदेखि हरेक दसैँमा यो गीत घन्किने गरेको छ । सुरुमा दर्शकको नजरमा नपरेको यो गीत अहिलेको ‘आइकोनिक दसैँ गीत’का रूपमा स्थापित भएको छ ।

यस्तै, सशस्त्र प्रहरी बलको ‘फौजीलाई कुन हो दसैँ’ दसैँमा खुबै घन्किन्छन् । १४ वर्षअगाडि रेकर्ड भएको गीत हो ‘फौजीलाई कुन हो दसैँ’ । फौजीहरूको कथा बोल्ने यो गीत पनि दसैँमा सर्वाधिक बज्ने गीतमा पर्छ । यसमा सशस्त्र प्रहरीमा रहेका नेपालीहरूले महान् चाडमा पनि बिदा नपाउँदाको व्यथा समावेश छ ।

यस गीत सशस्त्रकै दीपक कोइरालाले लेखेका थिए । गीतमा जगदीश समालले आवाज भरे । गीतको भिडियोमा सर्जक कोइराला नै फिचर भएका छन् । भिडियोमा उनले बिदाका लागि अपिल गरेको देख्न सकिन्छ ।

अर्को योगेश्वर अमात्यको स्वर रहेको गीत ‘दशैँ नै हो कि यो मेरो दशा…’ पनि दशैँमा धन्कने गरेको पाइन्छ । गीतमा विपन्न वर्गमा दशैँले निम्त्याउने समस्याको भाव समेटिएको छ । योगेश्वर आमात्यको ‘दसैँ नै हो कि यो मेरो दशा’ उनी स्वयंलाई यो गीत आफूले कुन वर्षमा गाएको हो भन्ने अहिले सम्झनामा छैन । पप रक शैलीको गीत बालबच्चा देखी बुढापाकासम्मले यो गीतलाई रुचाएको पाईन्छ । प्रायः बुढापाकाहरुले पप रक शैलीका गीतहरु मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दहरुले उनीहरुलाई तानेको हुनसक्छ ।

योगेश्वर आफ्ना दुई साथीसँग बियर खाएर बसिरहेका थिए । ‘म, न्ह्यू ब्रज्राचार्य र प्रेम बस्नेत कान्तिपथको एउटा रेष्टुरेन्टमा यसै बियर खाएर बसिरहेका थियौँ,’ योगेश्वरले यो कुरा कुनै दिन भनेका थिए, ‘हामी तीन भेट्दा गीतसंगीतको कुरा हुने नै भयो । फेरि त्यति बेला चाडवाडको मौसम सुरु भइसकेको थियो । हामीले पनि दशैंको विषयमा कुरा गर्यौँ । त्यहाँ कुरा हुँदहुँदै न्ह्यूले संगीत कम्पोज गरे, प्रेमले शब्दहरु लेखे अनि मैले त्यहाँ नै गीत गाएँ ।’

त्यसपछि गाइने निश्चित भयो, योगेश्वर अमात्यले स्वर दिएको यो गीत । गीतमा योगेश्वरलाई पछि रेकर्डिङ गर्दा दीपकराज गिरी र दिपाश्री निरौलाले पनि साथ दिएका छन् । साथै, कोरसका लागि उनीहरुले सडक बाबालबालिकाको पनि प्रयोग गरेका छन् । जे होस्, जबजब दशैं आउँछ, योगेश्वरलाई यो गीतको प्रसंग निकालेर धेरैले सम्झिन्छन् ।

दशैँ आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो…’ । दुई दशकअगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’को गीत हो यो । यो फिल्म अशोक शर्माले निर्देशन गरेका हुन् । गीतमा उमेश पाण्डे र रमाना श्रेष्ठको स्वर रहेको थियो । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर यस गीतमा प्रस्तुत छन् । अल्लारेमा समावेश गीतलाई लिएर अहिले फिल्म नै निर्माण भएको छ । अहिले नयाँ फिल्म रातो टीका निधारमा प्रमोद खरेल र मेलिना राईले त्यसलाई पुन गाएका छन् । गीतमा सहदेव ढुंगानाको शब्द तथा शम्भुजित बाँस्कोटाको संगति रहेको छ ।

पछिल्लो समय सार्वजनिक भइरहेका दसैँ-तिहार गीतको चर्चा उति सुनिदैँनन् । बरु, हरेक दसैँमा पुरानै गीतहरूको दबदबा रहन्छ । दशक बितिसक्यो, कुनै नयाँ दसैँ गीतले पुराना दसैँ गीतलाई माथ दिन सकेका छैनन् ।

चाडपर्वलाई लक्षित गरेर ल्याइने गीतहरु सकेसम्म सदाबहार हुन जरूरी छ । अचेलका दसैँ गीतहरूले न आफ्नो प्रभाव साबित गर्न सकेका छन्, न समाजमा नै । नयाँ दसैँ गीतहरू त केही दिनमा नै हराएर जाने गरेका छन् । क्षणिक मनोरञ्जनका लागि उत्पादन गरिने गीतले चाडपर्वको संरक्षण कहिल्यै पनि गर्न सक्दैन ।