१४ बैशाख २०८१, शुक्रबार

यी हुन् एकीकृत समाजवादीले पाएका निर्वाचन क्षेत्र

samajbadi1 cpn

झण्डै २ महिनादेखि प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डाको छलफलमा जुटेको सत्ता गठबन्धनले अझै भागबन्डा पूर्णरुपमा टुङ्गो लगाएको छैन ।

दलहरु भागबन्डाको नजिक पुगेको समाचार सार्वजनिक भइरहँदा घटक दलहरुले नै गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका छन् । जनता समाजवादी पार्टीले गठबन्धनको औचित्य सकेको निष्कर्ष निकाल्दै बाहिरिने संकेत गरेको छ ।

सत्ता गठबन्धन इत्तरका दलहरुसँग पनि गठबन्धनको प्रयास जारी रहने भन्दै जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्न छलफलमा जुटेको छ । स्रोतका अनुसार सत्ता गठबन्धनमा पाउने सिटभन्दा झण्डै दोब्बर सिट दिने एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि जसपा अध्यक्ष उपेन्द्र यादव ओलीसँग संवादमा बस्न तयार हुनुभएको छ ।

जसपा नबाहिरिएको अवस्थामा १६५ मध्ये झण्डै १६० सिटमा भने दलहरुबीच भागबन्डाको सहमति नजिक पुगेका छन् । गत शुक्रवारसम्मको सहमति अनुसार नेपाली कांग्रेसले ८५ निर्वाचन क्षेत्र पाउने छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४१ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ ।

यता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले १७ सिट पाउने सहमति गरिएको छ । सहमति अनुसार एकीकृत समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ, डोटी पाउने निश्चित प्रायः बनेको छ ।

तर उसलेअझै केही क्षेत्रमा दाबी यथावत राखेको छ । जसमा काठमाडौं ९, बारा ४, धादिङ १, अछाम १ मा दाबी गरिरहेको छ । यी क्षेत्रमा अन्य दलले पनि दाबी गरेकोले विवाद छ । तर सहमति प्रयास जारी रहेको गठबन्धन दलकै एक नेताले बताए ।