१५ मंसिर २०७९, बिहीबार

ठाउँ र समुदाय अनुसार दशैँको फरक संस्कृति, रातो, सेतो, कालो र पहेँलो टीकाको पनि प्रचलन

Dashain Tika
फाइल फोटो

नेपालमा धेरैजसो समुदायले दशैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोल अनुसार फरक-फरक छ।

कतै देवीको पूजा आराधना सहित बलि दिएर यो चाड मनाइन्छ भने कतै टीका जमरा मात्रै लगाएर पनि दशैँ मनाउने प्रचलन छ। कतिपय जनजाति समुदायले आफन्त भेटघाट र मिठो परिकार खाएर मात्रै पनि दशैँ मनाउने गरेका छन्।

संस्कृतिविद् र जानकारहरूका अनुसार नेपालमा जाति, भूगोल र परम्परा अनुसार दशैँमा रातो, सेतो, पहेँलो र कालो रङ्गको टीका लगाउने चलन छ।

दशैँलाई प्रमुख चाडको रूपमा मनाउने हिन्दू ब्राह्मण र क्षेत्री समुदायका धेरैजसोले यो चाडमा रातो टीका लगाउँछन् भने राई, लिम्बु, मगर, गुरुङ, तामाङ र थारु समुदायका अधिकांशले दशैँमा सेतो टीका लगाउने गरेका छन्।

‘पहिले सबैले सेतो टीका लगाउँथे’

धेरैजसो बौद्ध मार्गीले दशैँ नमनाए पनि तामाङ समुदायका केहीले सेतो टीका लगाएर दशैँ मनाउने गरेका छन्। पछिल्लो समय कतिपय जनजातिहरूले पनि दशैँमा रातै टीका लगाउने गरेका छन्।

दशैँ मान्ने धेरै जसो नेवार समुदायमा दशैँमा रातो टीकाकै चलन भए पनि केही नेवारहरूले यो चाडमा कालो टीका पनि लगाउने प्रचलन छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका संस्कृतिविद् जगमान गुरुङका अनुसार पहिले पहिले सबै समुदाय र क्षेत्रमा सेतै टीकाको प्रचलन भए पनि रङ्गको उपलब्धतासँगै कतिपयले रातो टीका लगाउन सुरु गरेका हुन्।

उनी भन्छन्, “सुरुमा सबैको सेतो नै हो। घरमै हुने अक्षता र दहीको टीका लगाउँथे। पछि बजारको सुविधा भएपछि भारतबाट अबिर ल्याएर लगाउन थाले। पहिले रातो टीका नेवारहरूले लगाउन थाले, उनीहरू व्यापार गर्ने, उनीहरूले पहिले रङ्ग पाए। त्यसपछि बाहुनहरूले त्यसको सिको गरे।”

कालो टीका पनि प्रचलनमा

तर सबै नेवारहरूले कालो टीका लगाउँदैनन्। कतिपय नेवारहरू कालो टीका लगाउँछन्। दशैँलाई मोहिनी भन्ने यो समुदायले दियो बाल्दा जम्मा हुने ध्वाँसोसँग चामल मुछेर कालो टीका लगाउने गरेका छन्।

काठमाण्डू उपत्यकाको काँठ भनिने क्षेत्रका कतिपय क्षेत्री समुदायमा पनि कालो टीकाको प्रचलन गरेको गुरुङ बताउँछन्।

कालो टीका तान्त्रिक विद्यासँग पनि जोडिएको बताइन्छ। कालो टीकाले दानव लट्ठिएर देवीले विजय हासिल गरेको विश्वासमा कालो टीकाको चलन रहेको बताइन्छ।

दशैँको टीका

पूर्वी नेपालका राई लिम्बुहरूले चाहिँ दशैँलाई सांस्कृतिक महत्त्व दिने गरेका छैनन्। राई र लिम्बु संस्कृतिबारे जानकारहरूका अनुसार दशैँ मान्ने र नमान्ने विषयलाई लिएर यो दुवै समुदायमा मतभेद छ।

“नेपाल एकीकरण पछि सुवाङ्गी प्रथा सुरु भयो त्यसपछि मात्रै पूर्वमा सुब्बाहरूले दशैँ मान्न सुरु गरेका हुन्,” लिम्बु संस्कृतिका अध्येता समेत रहेका तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ् भन्छन्, “लिम्बुहरूले अहिले आएर बिस्तारै दशैँ मनाउन छोडेका छन्।”

उनका अनुसार दशैँ मनाउने लिम्बु समुदायले दशैँमा दैवी शक्तिको आराधना गर्ने, हतियारको पूजा गर्ने, बली दिने र टीका जमरा लगाउने चलन छ। राजा र राणाहरूलाई घरमा बलि दिएको प्रमाण देखाउन राई र लिम्बूहरूले हत्केलामा रगत पोतेर घरको मूल ढोकाको दुवैतर्फ छाप लगाउने गरेको माबोहाङ् बताउँछन्।

क-कसले लगाउँछन् सेतो टीका

नेपाल एकीकरण पछि मात्रै लिम्बुहरूले दशैँ मनाउने गरेको कुरामा संस्कृतिविद् गुरुङ सहमत छैनन्। राई लिम्बूहरूले विगतबाटै देवीका शक्ति पीठहरूको पूजा गर्ने र टीका लगाउने चलन रहेको उनको दाबी छ।

नेपालको पूर्वदेखि पश्चिमसम्म बसोबास गर्ने थारुहरूले दशैँमा नवरात्री पूजा नगरे पनि टीका लगाउने गरेका छन्।

थारु संस्कृतिबारे अध्ययन गरिरहेका कृष्ण सर्वाहारीका अनुसार थारुहरूले सेतो टीका लगाउने चलन रहे पनि कतिपयले अहिले रातो टीका पनि लगाउन सुरु गरेका छन्।

थारु समुदायमा नौरथा पूजा नभए पनि सप्तमी देखि सरसफाइ सुरु हुने र नवमीमा कुखुराको बलि दिने गरिएको छ। थारु समुदायमा दशैँ मनाउन बाबरी र दौना फूलको पूजामा प्रयोग हुने गरेको छ।
“थारु समुदायमा पारिवारिक टीका बाहेक गाउँका संरक्षक मानिने गुरुबा र गाउँका अगुवाकोमा पनि टीका थाप्ने चलन छ। गुरुबालाई दक्षिणा पनि दिने चलन छ। दशमीकै दिन गुरुबाहरू भेला भएर आगोमा नाचिने अखडिया नाच गरेर नयाँ गुरुबा बन्ने चलन पनि छ,” उनले भने।

तर देशको पूर्व र पश्चिममा बसोबास गर्ने थारुहरूबीच पनि दशैँ मनाउने चलन फरक रहेको उनी बताउँछन्। थारु समुदायमा दशैँ अघिबाटै सुरु हुने सखिया नाच दशैँसँगै समापन गर्ने परम्परा छ।

थारु बाहेक मगर, तामाङ र अन्य केही जनजातिहरूले पनि दशैँमा सेतो टीका लगाउने गरेका छन्।

मधेसको भिन्न दशैँ

नेपालको मधेसमा बसोबास गर्ने अन्य जातिहरूमा पनि दशैँ मनाउने प्रचलन फरक छ। मधेसका कतिपय ठाउँहरूमा चाहिँ दशैँमा रक्षा बन्धन पनि बाँध्ने चलन छ।

“हाम्रोमा एक दिन मात्रै टीका लगाउने चलन छ। सबैले सबैलाई टीका लगाउने चलन छैन। घरको अभिभावकले दुर्गा पूजा गर्ने र उनैले सबैलाई टीका लगाइदिने चलन छ। यहाँ टीका लगाएर दक्षिणा दिने चलन पनि छैन,” धनुषाको जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले भनिन्।

दशैँको टीका

उनका अनुसार मधेसमा सूर्य उदाउनुअघि नै जमरा काटेर जमराको फेद नदीमा बगाउने चलन छ। मधेसमा टोल तथा चौक क्षेत्रमा दुर्गा पूजा गर्ने र अष्टमी वा नवमीमा बलि नचढाएसम्म माछा मासु नखाने र उपवास बस्ने चलन रहेको मिश्र बताउँछिन्।

हराउँदै पहेँलो टीका

दैलेखको दुल्लुमा चाहिँ बेसार मिसाएर पहेँलो टीका लगाउने चलन रहे पनि त्यो चलन हट्दै गएको छ।

कतिपयले दुल्लु क्षेत्रलाई नेपालका बाहुन जातिको उद्‌गमस्थल मान्ने गरेका छन्।

अहिले धेरैले रातो टीका नै लगाउन सुरु गरेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए।

उनले भने, “अहिले विधवा र दशनामी समुदायका केहीले मात्रै पहेँलो टीका लगाउँछन्, अरूले रातो टीका नै लगाउने चलन आइसक्यो।”