पुराना पुस्तालाई ‘शास्त्रसँग सम्बन्ध विच्छेद’को चिन्ता, नयाँ पुस्ताका लागि ‘व्यक्तिगत छनोट’को विषय

नेपालको विभिन्न क्षेत्र र जातजातिका मानिसहरूले दशैँ मनाउने तरिकामा विविधता पाइने नेपाली संस्कृतिका जानकारहरूले बताउने गरेका छन्।
विजया दशमीमा लगाइने टीकाकै कुरा गर्ने हो भने पनि कसैले रातो लगाउँछन्, त कसैले सेतो वा पहेँलो।
अनि, कसैले अक्षता लगाउँछन् भने कतिपय अक्षताविना पनि दशैँको टीका लगाउने गर्छन्।
तर यसरी मनाइने दशैँमा पनि पहिले-पहिलेभन्दा धेरै कुरामा परिवर्तन देखा परेको पुराना पुस्ताका व्यक्तिहरू बताउँछन्।
त्यस्तै नयाँ पुस्ताले दशैँलाई हेर्ने नजर पनि पुराना पुस्ताको भन्दा केही भिन्न रहेको नयाँ पिँढीका व्यक्तिहरू बताउँछन्।
‘दशैँ राजाहरूको चार्ड थियो, त्यसैलाई धेरैले नक्कल गरेका हुन्’
दशैँलाई हामी बाल्यकालमा पनि एउटा उत्सवका रूपमा मनाउँथ्यौँ। त्यो वर्षभरिको सबैभन्दा महत्त्वपूर्ण उत्सव हुन्थ्यो।

हाम्रो परिवार राणा परिवारमा आश्रित थियो। हामी राणा परिवारका गुरुजस्ता थियौँ।
जुन हाम्रो सम्बन्ध भएको राणा परिवार थियो, त्यो परिवारबाट दशैँ खर्च भनेर लुगाफाटा, पैसा, भेटी र बलिको बोकोहरू आउँथ्यो।
उनीहरूलाई कति परिवार छन् भन्ने थाहा हुन्थ्यो त्यसैले सबैलाई पुग्ने गरी त्यस्ता सामग्री दिन्थे।
त्यस बेला पूजाआजामा जोड दिइन्थ्यो। घरमै पूजाकोठा बनाएर बिहान बेलुका धूमधाम पूजा हुन्थ्यो।
सप्तशतीको पाठ हुन्थ्यो। हामी केटाकेटीहरू वरिपरि मन्दिरमा डमरु बजाएर हिँड्थ्यौँ।
म काठमाण्डूकै नक्सालमा जन्मिएर हुर्किएको हुँ। सहरमा खासै पिङ हाल्ने चलन हुँदैन।
मैले सानामा हाम्रो वरिपरि पिङ हालेको चाहिँ देखिनँ। सायद नक्सालको नारायणचौरमा हाल्थे कि?
आफ्नै घरमा पिङ बनाएर खेलेको चाहिँ सम्झना छ।
दशैँमा धेरैजसो इष्टमित्रकोमा जाने, टीका लगाउने, नयाँ लुगा लगाउने र केटाकेटीलाई थोरै भए पनि भेटी दिने चलन थियो।
त्यस्तै मिठो-मिठो खानेकुरामा जोड बढी हुन्थ्यो। दशैँका बेला पक्कु मासु हुन्थ्यो। त्यो एक पटक पकाएपछि १०/१५ दिनसम्म खपत हुन्थ्यो।
सात सालपछि परिवर्तन
२००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि हाम्रो संस्कृतिमा धेरै परिवर्तन भयो।
सात सालले के गर्यो भने- एकातिर शास्त्रसँग सम्बन्ध विच्छेद गराउन थाल्यो भने अर्कोतिर कतिपय समूहहरूले दशैँ बहिस्कार गर्ने र ‘धर्म अफिम हो’ भन्ने चलनले गर्दा दशैँ मान्ने चलन क्रमशः क्षीण हुँदै छ।
त्यसले गर्दा दशैँको व्यापकतामा निकै कमी आएको जस्तो लाग्छ।
राणाकालमा पनि दशैँमा पेस्की दिने र करिब-करिब १५ दिन त छुट्टी नै हुन्थ्यो।
हिजोआज चाहिँ बिदा पनि कम बनाउँदै ल्याएको छ। त्यसले मानिसमा अन्योल बढाएको छ।
१५ दिनसम्म साधना गर्नुपर्नेमा कोही कर्मचारी छ भने उसले त कहिले जाने कहिले नजाने झन् झ्याउलो हुने भयो।
त्यसले गर्दा मानिसमा उत्साह कम देखियो। प्राचीनता र संस्कृतिको महत्त्व र अर्थ नबुझ्नेका लागि त यो खर्च गर्ने मेलो जस्तो मात्रै हुन आयो।
शास्त्रसँग सम्बन्ध विच्छेद हुँदै गएको छ। दशैँ भनेको के हो भन्ने नै धेरैलाई थाहा हुन छाड्यो।
दशैँ के हो त ?
दशैँ खासगरी क्षत्रीहरूको उत्सव हो अर्थात् पहिले पहिले क्षत्री भनेका राजाहरू हुन्।
त्यसैले दशैँ राजाहरूको उत्सव हो। त्यसैले त यसलाई विजयादशमी भनेको हो।
यस बेला विजयका लागि युद्धका लागि यात्रा गर्ने चलन हो।
१० दिनसम्म खड्गको पूजा गरेपछि त्यो खड्ग लिएर युद्ध गर्न हिँड्ने उत्सव हो।
त्यस्तै अरूलाई पनि विजय त चाहिने हो। त्यसैले अरूले पनि त्यसलाई नक्कल गरेका हुन्। खासमा यो राजाहरूको चाड हो।
यो कुरा हाम्रो धर्मशास्त्रमै उल्लेख छ। निर्णयसिन्धुमा यो कुरा उल्लेख छ।
ब्राह्मणहरूको जनै पूर्णिमा, क्षत्रीहरूको विजयादशमी, वैश्यहरूको महालक्ष्मी पूजा (तिहार) र शूद्रहरूको होली भन्ने शास्त्रमा कथन छ।
टीका र जमराको महत्त्व
हामी दशैँको पूजाकोठामा जौ बालुवामाथि राखेर फेरि त्यसलाई छोप्छौँ।
त्यसबाट उम्रेको जमरा देवीको पूजा गर्न र लगाउन प्रयोग गर्छौँ।
एक हिसाबले यो “फर्टिलिटी कल्ट” अर्थात् उर्वराशक्तिको पूजा पनि हो।
यसलाई प्राकृतिक शक्तिको पूजाको रूपमा पनि लिन सकिन्छ।
त्यस्तै रातो भनेको शक्तिको प्रतीक हो। त्यो भनेको रजोगुण पनि हो।
(नेपालको धार्मिक इतिहासका लेखक समेत रहेका रेग्मीले व्यक्त गरेको विचार उनको निजी हो।)
‘दशैँको महत्त्व घटेको होइन, धारणा फराकिलो भएको हो’
हसिना लामिछाने, युवा अधिवक्ता
मलाई दशैँ भन्ने बित्तिकै मेरा लागि घर जान पाउने समय भन्ने लाग्छ।
त्यसका लागि समय मिलाउनु पर्छ भन्ने लाग्छ। त्यसपछि साथीभाइ र आफन्तसँग भेटघाट हुन्छ।
म काठमाण्डूमा बस्छु र मेरो बुबाआमा धुलिखेल बस्नुहुन्छ। हाम्रो घर चाहिँ सिन्धुपाल्चोक भएकाले त्यहाँ हजुरआमाहरू हुनुहुन्छ।
पहिले सानोमा चाहिँ अलि बढी किनमेल हुन्थ्यो। तर अचेल खासै धेरै किनमेल चाहिँ गर्दिनँ।
बाल्यकाल र युवा बेलाको दशैँ
बाल्यकाल र अहिलेको दशैँ मनाउने कुरालाई म दुई तरिकाले हेर्छु।
मैले व्यक्तिगत रूपमा हेर्दा पनि विद्यार्थीकालमा दुई साता वा एक महिनाको बिदा हुन्थ्यो।
बिदा लामो भएपछि भेटघाट पनि धेरै हुन्थ्यो। तर अहिले व्यवसायका कारण कार्यव्यस्तता बढेको छ।
त्यसले गर्दा भेटघाट पनि खुम्चिएको छ।
यसका अतिरिक्त समयसँगै दशैँप्रतिको हाम्रो धारणा पनि फराकिलो भएको जस्तो लाग्छ।
म त्यसलाई सकारात्मक रूपमा नै लिन्छु। किनभने दशैँ भन्ने बित्तिकै यस्तै किसिमले मनाउन पर्छ भन्ने छैन।
यो सांस्कृतिक, सामाजिक र व्यक्तिगत तीनैखाले कुरा हो।
त्यसैले गर्दा दशैँ कसरी मनाउने भन्ने व्यक्तिगत रोजाइको कुरा हो।
अचेल कतिपय साथीहरू घुम्न जानुहुन्छ। कति मानिस गाउँघर जानुहुन्छ।
हाम्रो समाजले चाहिँ दशैँलाई सामाजिक रूपमा हेरेको थियो जस्तो लाग्छ। अहिले भने त्यो कुरामा केही कमी आएको पो हो कि?
मेरा हकमा चाहिँ दशैँ खासै धेरै फेरबदल आएको जस्तो लाग्दैन।
तर नेपालको अहिलेको परिस्थिति हेर्दा गाउँमा हजुरबा आमा रहने र सहरी क्षेत्रमा बुबाआमा र छोराछोरी बस्ने गरेको देखिन्छ।
८/१० वर्ष अघिसम्म पनि सहरमा बस्नेहरू गाउँ गएर छुट्टै रौनक हुन्थ्यो तर अचेल गाउँबाट प्रौढ पुस्तालाई सहरतिर बोलाउने चलन बढेको जस्तो लाग्छ।
त्यसले गाउँघरमा साथीभाइ र आफन्तसँग हिजो जस्तो भेटघाट हुन्थ्यो त्यो कम भएको परिस्थिति चाहिँ छ।
युवाले महत्त्व दिन्छन् कि दिँदैनन्?
हाम्रो पुस्ताले दशैँलाई हिजो हाम्रा अभिभावकले जस्तो महत्त्व दिँदैनन् भन्ने कुराहरू पनि सुनिन्छ।
तर मलाई चाहिँ त्यस्तोभन्दा पनि अलि अहिलेको पुस्ताले दशैँलाई फराकिलो हिसाबले हेरेको हो जस्तो लाग्छ।
अहिलेको पुस्ताले सांस्कृतिक र धार्मिक पाटोलाई कम महत्त्व र सामाजिक पाटोलाई बढी महत्त्व दिएको जस्तो लाग्छ।
त्यसैलाई हेरेर दशैँमा युवा पुस्ताको ध्यानै छैन भन्न त मिल्दैन तर धार्मिक र सांस्कृतिक पाटोमा केही खट्किएको जस्तो चाहिँ मलाइ पनि लाग्छ।
यो पुस्तान्तरणका कारणले पनि भएको हो।
दशैँलाई मात्रै राज्यले महत्त्व दिएको हो?
कतिपयले दशैँलाई राष्ट्रिय चाडका रूपमा सरकारले धेरै महत्त्व दियो भन्ने पनि कुरा उठाएको सुनिन्छ।
त्यसका लागि नेपाल धर्म निरपेक्ष भइसक्यो भन्ने तर्क दिइन्छ।
म कानुनको विद्यार्थीका हिसाबले पनि त्यो कुरामा त्यति सहमत हुन सक्दिनँ।
यो दशैँलाई दिइने सद्भाव भनेको समाजलाई जोड्ने कडी हो। त्यसैले यो धार्मिक महत्त्वलाई राज्यले धेरै महत्त्व दियो जस्तो मलाई लाग्दैन।
दशैँ होस् वा अन्य कुनै पनि चाडपर्वलाई बढी महत्त्व दियो भन्दैमा अन्यलाई महत्त्व दिन यसको महत्त्व घटाउने होइन।
राज्यले त दशैँलाई जस्तै अरू सबै चाडपर्वलाई पनि उत्तिकै जगेर्ना गर्नुपर्छ।
यसै पनि दशैँलाई मनाउने कुरामा परिवर्तन आइसकेको छ। त्यसैले यस्ता कुरामा राज्यले कुनै परिधिको निर्धारण गर्नु उपयुक्त हुन्छ जस्तो लाग्दैन।
(लामिछानेको विचार निजी हो)