१५ बैशाख २०८१, शनिबार

कोरोना नियन्त्रणमा सरकारको १३ अर्ब खर्च

IMG 1155

सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको जानकारी दिए।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म  गरी उक्त रकम खर्च भएको खतिवडाले जानकारी दिए । सो खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरुबाट ६ अर्ब २ करोड रुपैयाँखर्च भएको छ । 

उनले संघीय संचित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको बताए। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयले ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयले १ करोड २९ लाख खर्च गरेका छन्।

कोरोना कोषबाट खर्च भएको रकम भने प्रदेश र स्थानीय तहमा समेत गएको अर्थ सूचना तथा सञ्चारमन्त्री समेत रहेका खतिवडाले जानकारी दिए । 

यस्तै प्रदेशहरूले कोरोना नियन्त्रण र उपचारका लागि १ अर्ब ४९ करोड ७० लाख खर्च गरेका छन्। सर्वाधिक खर्च गर्नेमा स्थानीय तह छन्।

प्रदेशहरुले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको समेत जनाइएको छ । 

यस्तो खर्च औषधि र स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएको उल्लेख गरिएको छ । हालसम्म नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँजम्मा भएकोमा यसबाट १ अर्ब २० करोड रुपैयाँखर्च भएको छ । 

बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्ष खर्च नभएको संस्थागत सामाजिक उत्तरदायित्वको रकम थपिन थालेकोले यो कोषका केही रकम थपिएको खतिवडाले जानकारी दिए ।  

हालसम्म स्थानीय तहबाट ६ अर्ब २ करोड खर्च भएको छ। खतिवडाले यी सबै खर्च औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार व्यवस्थापन र जनशक्ति परिचालनका लागि भएको जनाए।