७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकाका क्वारेन्टाइनलाई आइसोलेसन बनाइने

Isolation Beds

काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । संक्रमित बढ्दै गएपछी उपत्यकाका नगरपालिकाले हालको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरेका छन ।

त्यसै अनुरुप पहिलो चरणमा भक्तपुरको खरिपाटी क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिएको छ भने क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।

उपत्यकामा दैनिक बढ्दै गएको कोरोना भाइरस नियन्त्रण गर्न सबै नगरपालिकाले एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख सहमत छन् ।

उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो लेख्छन गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटा ।

उहाँले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने बताउनुभयो । अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा तीन सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन् ।

काठमाडौँ उपत्यकामा बढ्दो कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए प्रत्यक्ष चिकित्सकको निगरानीमा आइसोलेसन अत्यावश्यक भएको उपत्यका नगरपालिका फोरमले जनाएको छ ।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था हेरचाहका लागि हाल भएका आइसोलेसनले नपुग्ने बताउनुभयो | उहाँले ललितपुर महानगरले दुई स्थानमा बनाएको ५२ बेडको क्वारेन्टाइन आफैँमा आइसोलेसनजस्तै भएकाले यसलाई थप गरेर दुई सय बेड बनाउने तयारी भएको बताउनुभयो ।

उपत्यकामा नगरपालिकाले बनाउने आइसोलेसनमा कम्तीमा एक जना मेडिकल अधिकृत, स्वास्थ्य परिचालिका, प्यारामेडिक, फर्मासिस्ट एक-एक जना र आवश्यकताअनुसार ल्याब टेक्निसियनको व्यवस्था, एक सरसफाइ सुपरीवेक्षक र पाँच सरसफाइ कर्मचारी राख्ने गरी व्यवस्थित आइसोलेसन निर्माण गरिने जनाइएको छ ।