१३ बैशाख २०८१, बिहीबार

तनहुँमा पीसीआर रिपाेर्ट नेगेटिभ भएकालाई पनि सामाजिक बहिष्कार !

covid corona

पीसीआर रिपाेर्ट नेगेटिभ आउँदा पनि तनहुँको भानु नगरपालिका–११ मा नगरपालिकाका एक प्राविधिक र स्वास्थ्यकर्मी नै सामाजिक बहिष्कारमा परेका छन् ।

एकैसाथ स्वाब सङ्कलन गरिएकासँगै काम गर्ने एक इन्जिनियरलाई कोरोना पोजिटिभ देखिएपछि वडा अध्यक्ष र टोल विकास संस्थाका अध्यक्षसहितका गाउँलेले ती प्राविधिक र उनलाई घरमा आश्रय दिने उहाँकी दिदीलाई सामाजिक बहिष्कार गरेको पीडितहरूले बताएका छन् ।

पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका नगरपालिकाका ओभरसियर सन्दीप अधिकारी र उहाँकी दिदी रुपाकोट स्वास्थ्य चौकीमा कार्यरत अनमी अन्जना अधिकारी पौडेललाई टोल विकास संस्थाले नै निर्णय गरेर घर भित्रै नजरबन्द गरेको लेख्छन गोरखापत्र दैनिकमा प्रकाशचन्द्र भट्टराई

आफ्नो रिपाेर्ट नेगेटिभ आए पनि अधिकारी केही दिन क्वारेन्टाइनमा बस्ने गरी घर आएका थिए । तर आफ्नो घर साँघुरो भएको कारण नजिकै रहेको दिदीको घरको धन्सारमा बस्न अधिकारी जानुभएको थियो । तर गाउँलेहरूले कोरोना सङ्क्रमितसँग बसेर आएको भन्दै अधिकारीलाई घरमा नराख्न आफूलाई दबाब दिएको अन्जनाले बताउनुभयो ।

‘भाइको लागि छुट्टै धारा र शौचालयको व्यवस्था गरेकी थिएँ’, अन्जनाले भन्नुभयो ‘तर गाउँलेहरूले भाइलाई घरमा बस्न दिएको भन्दै मलाई पनि घरबाट बाहिर ननिस्कन दबाब दिनुभयो ।’ वडा अध्यक्ष तारानरेश पौडेलको उपस्थितिमा भएको टोल विकास संस्थाको बैठकले नै आफूलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको उहाँले बताउनुभयो ।

आफू स्वास्थ्य संस्थामा कार्यरत रहेको र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउँदा पनि टोल विकास संस्थाका पदाधिकारीले घरबाट बाहिर निस्कन नदिएको, पशु चौपायलाई घाँस पानी हाल्न जान पनि नदिएको गुनासो गर्नुभयो । आफ्नो पीसीआर रिपोर्ट नेगेटिभ आएको तर आफू स्वेच्छाले केही दिन क्वारेन्टाइनमा बसेको भन्दै सन्दीपले यही निहुँमा आफूहरू दिदी भाइलाई नै अमानवीय व्यवहार गरिएको बताउनुभयो ।

आफूहरूलाई अमानवीय व्यवहार भएको हुँदा दोषीहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्न माग गर्दै सन्दीप र अन्जनाले बिहीबार ईमेलमार्फत् जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । निवेदन परेपछि प्रशासनले यसबारेमा बुझ्न इलाका प्रहरी कार्यालयका डुम्रेका इन्चार्ज प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएको थियो ।

वास्तविकता बुझेर दोषीलाई नियन्त्रणमा लिएर आउनसमेत प्रहरी टोलीलाई निर्देशनसहित प्रशासनले घटनास्थलमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

प्रहरी टोली गाउँमा पुगेपछि गाउँलेहरूले आफूहरूबाट गल्ती भएको भन्दै अब यस्तो कमजोरी नगर्ने बताएका थिए । टोल विकास संस्थाका पदाधिकारीहरूले आफूहरूले अब कसैलाई पनि कोरोनाको नाममा बहिस्कार नगर्ने र समाजमा मिलेर बस्ने प्रतिबद्धता जनाएका थिए । प्रहरीको समन्वयमा दुवै पक्षबीच सहमति भएको पीडित अन्जनाले बताउनुभयो । अब आफू शुक्रबारबाट नियमितरुपमा स्वास्थ्य चौकी जाने र भाइ पनि आज नै आफ्नो घरमा जाने उहाँले बताउनुभयो ।

वडा अध्यक्ष पौडेलले भने यो घटनामा आफ्नो कुनै संलग्नता नभएको बताउनुभयो । गाउँका अन्य व्यक्तिलाई कोरोना सङ्क्रमण नहोस् भनेर सजगता अपनाइएको उहाँले बताउनुभयो ।