४ बैशाख २०८१, मंगलवार

प्रदेश ५ मा समुदायमा बढ्दै कोरोना सङ्क्रमण

butwal city road

प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् ।

बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक जना र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको अवस्था सामान्य छ ।

चार जना बैंकका कर्मचारीमा कोरोना

बर्दियामा थप आठ जना कोरोना सङ्क्रमित थपिएका छन् । चार जना बैंकका कर्मचारीसहित आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बाँसगढी नगरपालिका–५ का तीन जना वडा नम्बर ८ का दुई जना र वीरेन्द्रनगर सुर्खेत घर भएका तीन जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये एकजना महिला र सुर्खेत घर भएका तीन जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो । योसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २७७ पुगेको छ ।