७ बैशाख २०८१, शुक्रबार

प्रदेश ५ मा कोरोना सङ्क्रमण बढे पछी आलोपालो प्रशासनिक सेवा

province no 5

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले राससलाई जानकारी दिनुभयो ।

प्रजिअ पन्थकाअनुसार आइतबार सिद्धार्थ नगरपालिका, मर्चवारी गाउँपालिका र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइने छ । यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकावासीलाई सेवा दिइने छ । मङ्गलबार देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र कोटहीमाई गाउँपालिका तथा बुधबार बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइने छ ।

बिहीबार सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइने छ । आज मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तालिका बनाएको छ ।

यसैबीच आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले बुटवलमा लकडाउन र अन्य ठाउँमा कडाइ गर्ने निर्णय गरेको छ । उक्त बैठकले धार्मिक क्रियाकलाप घरमै गर्ने, चाडपर्व घरमै मनाउने, शैक्षिक संस्था बन्द र सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो ।