१६ चैत्र २०८०, शुक्रबार

बलात्कारको अभियोग लागेका सशस्त्रका एसएसपी अधिकारी थुनामा

Rape 2

चितवनकी २७ वर्षकी युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।

आफ्नै क्वार्टरमा एक महिलालाई खाना खान बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत कास्कीमा न्यायाधीश दिपक कुमार खरेलको एकल इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दा अनुसन्धान प्रकिया अघि बढाउने आदेश दिएको अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले बताए ।

खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी कास्की जिल्ला कारागार चलान भएका हुन ।

‘मिसिल संलग्न तत्काल बुझिएका प्रमाण र कागजबाट प्रतिवादी (अधिकारी) निर्दोष रहेछन् भन्ने अवस्थाको विद्यमानता नभएको आदेशमा रहेको’ कास्की जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्ययाले बताए । पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा हाल प्रतिवादी राजेन्द्रकुमार अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ । ‘सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ जिल्ला कारागार पठाउनु’ आदेशमा छ ।

सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता गुरूदत्त गौतमलगायत ३ जना र प्रतिवादि तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापा लगायतले बहस गरेका थिए ।

पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको आरोप थियो । महिलाको उजुरीका आधारमा कास्की प्रहरीले असार ३१ (घटना भएकै दिन) मा अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरी गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा पेश गरेको थियो । न्यायाधिवक्ताको कार्यालयले आइतबार जिल्ला अदालतमा पेश गरेको थियो ।

घटना भएको दिन दिउँसो ३ बजेतिर कन्ट्रोल रुममा २७ वर्षीया एक युवतीले रुँदै आफूलाई अधिकारीले खाना खान बोलाएर जबरजस्ती गरेको मौखिक उजुरी दिएकी थिइन् । प्रहरीले अधिकारीलाई झाडीमा लुकेको अवस्थामा कार्यालय परिसरमै भेटाएको थियो । अधिकारीको घटनाको अघिल्लो दिनमात्र सरुवा भएको थियो । उनलाई पोखराबाट सशस्त्र प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको थियो ।

अधिकारीको पोखराबाट सरुवाको अघिल्लो दिनमात्र सो घटना भएको थियो ।