७ बैशाख २०८१, शुक्रबार

कोरोना पुष्टि भएपछि ‘बग्गीखाना’ सिल, एसएसपी सहित ३७५ प्रहरी क्वारेन्टिनमा

baggikhna traffic
फाइल फोटो

महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जनामा प्रहरीमा कोरोना संक्रमण देखिएपछि हाल महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ।

सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ।

महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो। क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ। गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।

‘अहिले सिल गरेर हामी सँग सम्पर्कमा आएकाहरुको लिष्ट बनाउँदै छौं,’ महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

महाशाखाका प्रहरी क्वारेन्टिनमा रहेपछि अन्य युनिटबाट जनशक्ति ट्राफिक व्यवस्थापनमा खटाइएको छ ।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ। त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ। २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

काठमाडौंका ८६ सहित २५९ प्रहरीमा कोरोना संक्रमण

काठमाडौंका ८६ प्रहरीसहित देशभर २५९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंमै कार्यरत ७३ र काठमाडौं उपत्यकाका १३ प्रहरी गरी ८६ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै काठमाडौं उपत्यकाबाहिरका १७३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म संक्रमित प्रहरीमध्ये १०३ जना डिस्चार्ज भएका छन् ।

संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ७३, उपत्यकाका १३, प्रदेश १ का २९, प्रदेश २ का ४२, गण्डकी प्रदेशका ४८, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।

संक्रमितमा एसपी १ जना, इन्स्पेक्टर ६, सई १२, असई १६, हवल्दार ६९, प्रहरी जवान १५१ र कार्यालय सहयोगी चारजना छन् ।