१२ बैशाख २०८१, बुधबार

निर्मला पन्त प्रकरण: कञ्चनपुरका तत्कालिन एसपी विष्टसहित ८ प्रहरीले जिल्ला अदालतबाट पाए सफाइ

nirmala pant police

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या प्रकरणको अनुसन्धानका क्रममा ‘यातना दिएको’ र ‘सार्वजनिक न्यायविरूद्धको कसुर’मा मुद्दा परेका आठ जना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको  छ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै जना प्रहरीलाई सफाइ दिएको हो। वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिए ।

यस्तै घटनामा संलग्न भएको आशंकामा प्रहरी हिरासतमा रहेका बेला दिलीप सिंह विष्टमाथि यातना दिएको भन्ने अभियोग पनि पुष्टि नभएको अदालतले बताएको छन। 

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो ।

निर्मलाकी आमा दुर्गादेवी र दीलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रमाण नष्ट गरेको र दिलिपलाई यातना दिएको भन्दै उनीहरुविरुद्ध जाहेरी दिएका थिए। उक्त मुद्दा ०७५ फागुन २२ मा दर्ता भएको थियो।

बिस्टसहित सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, प्रहरी कर्मचारीहरू ज्ञानबहादुर सेठी, हरसिंह धामी, रामसिंह धामी, एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, र चाँदनी साउदलाई  सफाइ दिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुनाथ शर्माले बताए।

मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट र इन्सपेक्टर जगदिश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएका थिए ।

२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो।

निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई पक्राउ गरेको थियो। बिष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकारेको प्रहरीको दाबी थियो। तर निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।

निर्मला बलात्कारपछि हत्याकाण्डको प्रारम्भिक छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै कन्चनपुरमा आन्दोलनसमेत भएको थियो।

आन्दोलनका क्रममा एक जनाको ज्यान गयो। उक्त घटनाको छानबिन गर्न भन्दै सरकारले र प्रहरीले छानबिन समितिहरू बनाए पनि अहिलेसम्म अपराधी पत्ता लागेको छैन। ती छानविन समितिले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन दिएपछि बिष्टसहित ८ प्रहरीमाथि मुद्दा चलाइएको थियो।

दिलिप सिंहका दाजुले प्रहरीले आफ्नो भाइलाई यातना दिएको भन्दै जाहेरी दिएका थिए। उक्त जाहेरीमाथि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो।

उनीहरू सबै यसअघि नै धरौटीमा रिहा भइसकेका थिए।

तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डिएसपी अंगुर जिसी ९ लाख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का ९/९ लाख, प्रहरी निरीक्षक जगदीश भट्ट ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

जिल्ला अदालतको पछिल्लो फैसलापछि निलम्बनमा परेका प्रहरी अधिकारी अब सेवामा फर्कने बाटो खुला भएको छ। तर, विष्ट र भट्टलाई भने बर्खास्तीमा परेकाले सेवामा फर्किन नपाउने बताइएको छ ।