२१ बैशाख २०८२, आईतवार

भारतीय चिट्ठीको जवाफ: कालापानी नेपालको भूभाग हो, सरकारद्वारा कालापानीको फेदमै बीओपी राख्न प्रक्रिया शुरु

kalapani limpiyadhura

भारतीय पक्षले कालापानी,लिम्पियाधुरा क्षेत्रमा अवान्छित गतिविधि भइरहेको भन्दै पठाएको पत्रको नेपालले कडा जवाफ दिएको छ ।

जवाफमा लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको, आफ्नो ठाँउमा आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने जनाएको छ । साथसाथै घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख पनि पत्रमा लेखिएको छ । पत्र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई पठाएका हुन ।

यसअ घि भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको थियो । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको थियो ।

कालापानी फेदमै बीओपी

सरकारले कालापानी फेदमै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने प्रक्रिया सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार ‘माथिल्लो कौवामा बीओपी राख्न जग्गा पहिचान गर्ने काम भइरहेको छ। एक महिनाभित्र बीओपी स्थापना हुन्छ,’ |

कौवाबाट ३ किलोमिटर दुरिमा भारतको सैनिक क्याम्प बसेको छ। स्थानीयवासीले सो क्षेत्रमा नेपालको सशस्त्र प्रहरी राख्नुपर्ने माग गर्दै आए पनि असार २९ गतेको मन्त्रिपरिषदको निर्णय अनुरुप छाङरुको बीओपीलाई माथिल्लो कौवामा सार्न लागिएको हो।

हाल छाङरुबाटनै त्यहाँ गस्ती हुँदै आएको छ । बीओपी स्थापना भए सँगै उक्त क्षेत्रमा नेपाली सुरक्षाकर्मीको बलियो उपस्थिति हुनेछ।

छाङरुस्थित गागामा भने डीएसपीको कमाण्डमा गुल्म स्थापनार्थ भवन निर्माणका लागि सरकारले ठेक्का लगाइसकेको छ।