७ बैशाख २०८१, शुक्रबार

राजधानीमै १५ केजी ‘सुन’को झोला फ्याँकेर प्रहरीको घेराबाट कसरी उम्कियो गाडी ?

Sun baramd Gold 5 1024x576 1

प्रहरीले मंगलबार बिहान राजधानीको कमलादीबाट बरामद गरेको सामान सुन नभएको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्दै सुरूमा सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ।

१५ केजी ‘सुन’-

मंगलबार बिहान ९ बजे राजधानीको कमलपोखरी चोकनजिक प्रहरी गाडी चेकजाँचमा थियो।

बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट हुत्तिएर आयो। बिहानको करिब ९ बजेको थियो। प्रहरी सडकमा नै चेकिङमा खटिएको थियो। संयोग वा कुनै पूर्व जानकारी, महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट डीएसपी रञ्जन दाहालको नेतृत्वमा नै टोली खटिएको थियो।

प्रहरीले कमलादीतिरबाट आइरहेको गाडीलाई चेकिङका लागि रोक्न खोज्यो तर गाडी रोकिएन। प्रहरीले पिछा गर्‍यो। कमलादीस्थित नबिल बैंक अगाडि सेतो रङ्गको कपडाको झोला फ्याकी गाडी फरार भयो। झोलामा दुई थान अबैध हतियार र पहेंलो धातु भेटियो।

त्यो लिएर प्रहरी फर्किए तर गाडी सहित ती संदिग्ध व्यक्ति भने फरार भए।

महानगरको व्यस्त चोकमा भएको यो घटनाबारे प्रहरीका अन्य युनिटले जानकारी समेत पाएनन्।

नक्कली सुन-

महानगरीय प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा एसएसपी श्याम ज्ञवालीले बरामद भएको ‘१५ केजी सुन’मध्ये आधा केजीको एउटा विस्कुट मात्र सक्कली भएको र बाँकी सबै चाँदीलाई बाहिरबाट सुनले जलप लगाइएको जानकारी दिए।

‘नेपाल सुन चाँदी व्यवसायी संघले गरेको परीक्षणपछि झोलामा ४२ लाख ९ हजार पाँच सय रुपैयाँ बराबरको सुन र १५ लाख ५६ हजार चार सय रुपैयाँ बराबरको चाँदी भएको परिमाण पाइएको छ’, एसएसपी ज्ञवालीले भने।

एसएसपी ज्ञवालीले स्कर्पियोमा सवारहरु नक्कली सुनका कारोबारी हुन सक्ने बताए। थोरै मात्रामा सुन र बाँकी सुनको जलप भएको चाँदी भएकाले सक्कली सुन भनेर बिक्री गरेको गिरोह सक्रिय भएको हुन सक्ने उनले बताए।

नक्कली सुन फ्याँकेर गाडीमा सक्कली सुन लिएर पो फरार भए कि भन्ने प्रश्नमा उनले भने, ‘त्यो पक्राउ परेपछि अनुसन्धानले पत्ता लाग्ला।’ प्रहरीले स्कर्पियोको नम्बर खुलेको र बा ६ च ५५१९ नम्बरको भएको जनाएको छ। सवारी धनीका विषयमा भने प्रहरीले केही बताउन चाहेन।

चिनियाँ नाका र हवाई माध्यमबाट भित्रने अवैध सुन केही सस्तोमा विक्री हुने गरेको दाउ छोप्दै ठगि गिरोहले फलाम, चाँदी लगायत पदार्थमा सुनको लेपन लगाएर सक्कली सुन भनी बिक्री गर्ने गरेको प्रहरीका अघिल्ला विभिन्न अनुसन्धानबाट देखिने गरेको छ।

ट्राफिकलाई कुनै जानकारी छैन

घटनाको बारेमा ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भने यस विषयमा ट्राफिकलाई कुनै जानकारी नआएको बताए। सामान्य ट्राफिक नियम उल्लंघन गरेको गाडी रोक्न प्रहरीले उपत्यकाभर तत्काल सर्कुलर गर्छ तर हतियारसहितका अभियुक्तलाई पक्रिन किन खबर गरिएन भन्ने विषयले आशंका जन्माएको छ।

‘गाडी त्यहाँबाट फरार भएर अहिलेसम्म पक्राउ पर्न सकेन भन्नु नै शंकास्पद हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘ स्कर्पियोले प्रहरीलाई डाइभर्ट गर्न पेस्तोल र सुनसहितको झोला फाल्यो भन्नुको कुनै तुक देखिँदैन।’

शंकै शंका

हतियारसमेत भेटिएको सो घटनाबारे अपराध महाशाखाले समेत सुइको पाएन। महाशाखाका प्रमुख दीपक थापाले भने, ‘यो घटनामा हामीलाई जानकारी भएन, परिसरले गरेको होला, के कसो भयो हामीलाई थाहा छैन।’

यो घटना सार्वजनिक भएसँगै यो अप्रेसनले प्रश्न जन्माएको प्रहरीहरु नै बताउँछन्। यो घटनाको बारेमा प्रहरीसँग पर्याप्त जानकारी थियो कि थिएन? सुचना थियो भने प्रहरीले योजना बनाएर त्यही अनुसारको अप्रेसन किन गरिएन भन्ने लगायतका प्रश्न उब्जिएको प्रहरी अधिकारीहरु बताउँछन्।

अभियुक्त सामान र हतियार छाडेर किन भागे, हतियार नै फाल्छ भने उसले केका लागि पेस्तोल बोकेको थियो र गोलिबिनाको पेस्तोल किन बोक्यो भन्ने प्रश्न उब्जिएको ती अधिकारीहरुले बताए।

राजधानीका चोकचोकमा सीसीटीभीहरु राखिएको छ। यी मुख्य चोकमा दिनदहाडै संदिग्ध व्यक्तिहरु गाडीमा भाग्न कसरी संभव भयो भनी प्रश्न उठेको छ।

झोलामा गोली नराखिएका दुई वटा चाइनिज पेस्तोल र दुई वटा खाली म्यागिजन भेटिनु, प्रहरीले सामान फ्याँकिसकेपछि स्कर्पियोलाई पिच्छा नगर्नु र पाँच घण्टा वित्दासमेत गाडी पक्राउ नपर्नुले घटना कहिलेको भन्नेमै प्रश्न उठेको छ।

परिसरले फरार अभियुक्तको खोजी भइरहेको जनाएको छ।