८ बैशाख २०८१, शनिबार

एसईई नतिजा एकसाता भित्र प्रकाशित हुने

rastriya parikshya board

शिक्षा पत्रकार समुहले सोमबार काठमाडौंमा गरेको छलफलका क्रममा अब एक साता भित्र नतिजा सार्वजनिक गर्ने बताइएको छ। वोर्डले देशभरका सबै विद्यालयबाट विवरण आईसकेका र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक खकुरेलले ‘शिक्षाबार भर्चुअल संवाद’ छलफलका क्रममा भने, ‘२५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ। यसै साता नतिजा प्रकाशनको तयारी गरेका छौं।’

विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिए पनि विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरुमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटिहरु पाइएको परीक्षा नियन्त्रक खकुरेलले बताए ।

उनले एसईइ मूल्यांकनका सन्दर्भमा विद्यालयहरु र इकाईहरुसमेत गम्भीर नदेखिदा केही जिल्लामा समस्या देखिएको बताए ।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए। कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो।

सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो।

यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ।