१२ बैशाख २०८१, बुधबार

एसईई परीक्षा वैशाख ९ देखि सञ्चालन हुने

exam 750x375 1
फाइल फोटो

माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् ।

प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको बोर्डले जनाएको छ । परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् ।

बोर्डको भनाइमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुनेछन् । प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको बोर्डको भनाइ छ । एसईईको नतिजा मुलुकभर एकैपटक सार्वजनिक गर्ने वा प्रदेशगत रूपमा गर्ने भन्ने निष्कर्षमा पुगिनसकेको बोर्डले बताइएको छ ।

प्रदेशले परीक्षा सञ्चालनपछि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ ।