१४ बैशाख २०८१, शुक्रबार

युभेन्ट्सले जित्यो लगातार नवौंपटक सिरी ए लिग उपाधि

juventus

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले उपाधि उचालेको छ । यो उसको लगातारको नवौंपटकको उपाधि हो ।

नेपाली समयअनुसार आज बिहान भएको लिगको ३६औं चरणको खेलमा युभेन्ट्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली साम्प्डोरियालाई २–० गोलअन्तरले हराउँदै लगातार नवौंपटक लिग च्याम्पियन बनेको हो । युभेन्ट्सले लिगका अन्तिम २ खेल बाँकी छँदै उपाधि जित्न सफल भयो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक–एक गोल गरे ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा मिरेलाम पियानिचले चलाखीपूर्वक दिएको फ्रि किक पासमा आकर्षक गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ६७औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए ।

खेल सकिन एक मिनेटअघि युभेन्ट्सले पेनाल्टी पाए पनि उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । च्याम्पियन युभेन्ट्सको ८३ अंक छ । दोस्रो स्थानको इन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंकसहित १५औं स्थानमा छ ।

युभेन्ट्स २०१०-११ सिजन पछि सम्पन्न ९ सिजनमा लगातार विजेता बन्न सफल भएको छ ।  एजेन्सी