१३ बैशाख २०८१, बिहीबार

मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रायलको निर्देशन

Ministry of Home Affairs

गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुन: निर्देशन दिएको छ।

कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

अधिकारीले बताए अनुसार मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनिएको छ ।

‘रोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेका छन्। मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मास्कको नियममा कडाइ गर्न फेरि निर्देशन दिएको हो,’ उनले भने,’अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिनेछ।’

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।

साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।

यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।

केही जिल्लामा निर्देशनको पालना भए पनि धेरैले मास्क नलगाई हिँड्ने गरेका छन्।